काँग्रेस, एमालेले चाहे भने सहमति हुन्छ: अध्यक्ष महतो
भक्तपुर, १५ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली काँग्रेस र नेकपा (एमाले)ले चाहेमा सहमति हुने बताउनुभएको छ ।
रफत् सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले एमाले—काँग्रेसले दुई तिहाईको दम्भ देखाउन छाडेमा सहमति हुने पनि बताउनुभयो ।
अध्यक्ष महतोले विगतमा गरेका सहमति र सम्झौतालाई लत्याएर दुई तिहाईको दम्भमा संविधान जारी गर्ने प्रयासलाई छाडे सहमति हुने बताउँदै उहाँले बहुमतको दम्भमा संविधान जारी गरे संविधान जलाएर सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
शीर्ष नेताहरुको वार्तालाई चियागफको संज्ञा दिँदै उहाँले सभामुखले निष्पक्ष नभई पार्टी कार्यकर्ताको भूमिका खेल्दा थप समस्या आएको टिप्पणी गर्नुभयो ।
तराईका पाँच जिल्लाका विवादमा काँग्रेस—एमालेले अडान छाड्नु पर्ने बताउँदै उहाँले सहमतिको बिन्दू ती पाँच जिल्ला नै रहेको बताउनुभयो ।
‘एक मधेस, एक प्रदेश’को नारालाई गलत ढङ्गले व्याख्या गरेको बताउँदै उहाँले काँग्रेस—एमालेले तराई र पहाडबीचको सद्भाव खल्बल्याउन खोजेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया