आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०१:११
वासिङटन डिसी 14:26

पूर्वाधार र पर्यटन विकासमा जोड दिनुपर्ने: परराष्ट्रमन्त्री पाण्डे

इनेप्लिज २०७१ चैत १५ गते १४:१९ मा प्रकाशित

mahendra_20150127083121काठमाडौँ, १५ चैत । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रक्रियाबाटै सहमतिको संविधान जारी हुने बताउनुभएको छ ।

ठमेल पर्यटन विकास परिषद्को १९ र २०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – “प्रक्रियाबाटै चाँडै संविधान बन्छ । प्रक्रियामा जाँदा पनि सहमति र समझदारी हुन्छ ।”

परराष्ट्रमन्त्री पाण्डेले संविधान निर्माणपश्चात् राष्ट्रको उन्नतिका निम्ति चार वटा क्षेत्र पूर्वाधार विकास, पर्यटन, ऊर्जा र कृषिको आधुनिकीकरण अघि बढाइनुपर्ने भन्दै यो भएमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन प्रवद्र्धन गरी बढी पर्यटक भित्र्याउन पूर्वाधार निर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले पर्यटकको उत्कृष्ट गन्तव्य ठमेललगायतका क्षेत्रको प्रवद्र्धन तथा पुरातात्विक सांस्कृतिक धरोहरको मर्मत सम्भार गर्न जरुरी भएको बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले ठमेल पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले सो क्षेत्रको विकास प्रवद्र्धनका लागि पहिलो पटक ऐतिहासिक रुपमा सरकारले नेपाल पर्यटन बोर्डमार्फत रु एक करोड बजेट विनियोजन गरेको भन्दै यसले पूर्वाधार निर्माण र पुरातात्विक धार्मिक मठ मन्दिरको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन शर्माले ठमेललाई पर्यटकीय हबका रुपमा विकास गर्न सबैको ध्यान जानुपर्ने धारणा राख्नु भयो ।

संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला, पर्यटन व्यवसायीहरु दीपक महत, गणेश सिंखडालगायतले ठमेलको पर्यटन प्रवद्र्धनका लागि सहकार्य जरुरी भएको खाँचो औँल्याउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटकीय क्षेत्र ठमेलमा पूर्वाधार विकास र सम्पदा संरक्षणको काम तीव्र गतिमा अघि बढाइएको बताउनुभयो ।

सो अवसरमा परिषद्का संस्थापक गणेश पाण्डेसहित पाँच जना पूर्व अध्यक्षलाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी परिषद्मार्फत पर्यटन प्रवद्र्धनका लागि योगदान पु¥याउने नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी थापा, सडक डिभिजन कार्यालय काठमाडौँका डिभिजन–२ प्रमुख कर्ण रानाभाट, टानका अध्यक्ष धमला, पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारी (नगद रु १० हजारसहित) लगायत १५ जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया