बिहीबार, वैशाख २३ २०७८
काठमाडौं ०९:३४
वासिङटन डिसी 23:49

पत्रकार र सभासद्बीचको मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी

इनेप्लिज २०७१ चैत १४ गते १५:२९ मा प्रकाशित

foot-1024x680काठमाडौँ, १४ चैत । नेपाल पत्रकार महासङ्घको ६०औँ स्थापना दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

आज दशरथ रङ्गशालामा भएको खेलमा पत्रकार–११ ले सभासद्–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गरेको छ । सभासद्को कप्तानमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल हुनुहुन्थ्यो भने उपकप्तान सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल रहनुभएको थियो ।

पत्रकारका तर्फबाट महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले कप्तानी गर्दा उहाँलाई उपाध्यक्ष खिलबहादुर भण्डारी तथा महासचिव उजिर मगरलगायतले साथ दिएका थिए । सभासद्को टोलीमा अग्नि खरेल, बद्री पाण्डे, उदयशमशेर राणा, यज्ञराज सुनुवारलगायत सामेल हुनुहुन्थ्यो ।

दुवै हाफ ३०/३० मिनेट गरी ६० मिनेट खेलाइएको खेलमा पत्रकारका प्रज्वल शाक्यले दुई तथा सुन्दर खनाल र सुवास हुमागाईँले एक÷एक गोल गरेका थिए । सभासद् टोलीले अन्तिमसम्म गोल फर्काउने प्रयास गरेको थियो, तर सम्भव भएन ।

आफ्नो स्थापना दिवसका उपलक्ष्यमा पत्रकार महासङ्घले भृकुटीमण्डपमा चैत्र १५ गते बिहान ८ बजे रक्तदान कार्यक्रम तथा सोही समयमा चैत्र १६ गते भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म प्रभातफेरी गर्नेसमेत कार्यक्रम रहेको महासङ्घका केन्द्रीय सदस्य तथा एसोसिएट समिति संयोजक प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया