शनिबार, मंसिर २० २०७७
काठमाडौं ०८:५४
वासिङटन डिसी 22:09

प्रधानसेनापति राणा प्रतिरक्षा प्रमुखको सम्मेलनमा सहभागी

इनेप्लिज २०७१ चैत १४ गते ११:५९ मा प्रकाशित

Gaurav-Samser-Ranaकाठमाडौँ, १४ चैत । प्रधानसेनापति गौरवशम्शेर राणाले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा शान्ति सेनामा सहभागी हुने मुलुकका प्रतिरक्षा प्रमुखको सम्मेलनमा भाग लिनुभएको छ ।

उक्त सम्मेलनको शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव बान की–मुनले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनमा सङ्घका उपमहासचिव हर्भ लाडससले विश्व संस्थाको शान्ति अभियानको वर्तमान राजनीतिक, रणनीतिक तथा सञ्चालनका विषयमा जानकारी दिनुभएको थियो । अर्का उपमहाचिव अतुल खेर शान्ति अभियानमा रहेका चुनौती तथा अवसरका विषयमा उल्लेख गर्नुभएको थियो भने शान्ति सेना परिचालनका सैनिक सल्लाहकार मसुद महमदले परिवर्तित वातावरणमा कार्यसम्पादनका चुनौतीका विषयमा बोल्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा सहभागी राष्ट्रबीच सैनिक तथा कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्नुका साथै आपसी सहयोग तथा सहकार्यको क्षेत्र विस्तार गर्न उक्त सम्मेलनको आयोजना गरिएको हो । नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ गरेको योगदानलाई अन्तर्राष्ट्रिय रुपमा प्रशंसा गरिँदै आएको छ ।

प्रधान सेनापतिबाट संयुक्त राष्ट्रका महासचिवलाई भेटी विश्व शान्तिस्थापना कार्यमा नेपाली सेनाले पु¥याएको योगदानलगायत समग्र विश्व शान्ति स्थापना कार्यको हालसम्मको मूल्याङ्कन तथा भावी कार्यक्रमबारे समेत राय–सुझाउ दिने अवसर प्राप्त हुनु मुलुककै लागि महत्वपूर्ण योगदान भएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताउनुभयो ।

नेपालले एक लाखभन्दा बढी शान्ति सैनिक विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा पठाउनुका साथै विभिन्न उच्च नियुक्तिको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हाल्दै आएको छ ।

विश्व शान्तिस्थापनाका लागि अहिले नेपाली सेना विभिन्न मुलुकको १४ स्थानमा परिचालन भएको छ । ती शान्ति मिसनमा हाल चार हजारको हाराहारीमा नेपाली सेना तैनाथ छन् । शान्ति सेना पठाउने मुलुकको कोटीमा नेपाल अहिले छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया