आइतबार, मंसिर १४ २०७७
काठमाडौं १९:३७
वासिङटन डिसी 08:52

अनुमानयोग्य सरुवा पद्धतिको विकास गरिन्छ: मन्त्री पण्डित

इनेप्लिज २०७१ चैत १३ गते १२:२७ मा प्रकाशित

POST PHOTO/KIRAN PANDAY/KANTIPURबर्दिया, १३ चैत । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजनीतिक दबाब र प्रभावमा कर्मचारीको सरुवा गर्ने प्रवृत्ति निरुत्साहन गर्दै अनुमानयोग्य सरुवा पद्धतिको विकास गरिने बताउनुभएको छ ।

सदरमुकाम गुलरियामा आज कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै उहाँले मन्त्रालयले कर्मचारीका लागि वृत्ति विकास, प्रोत्साहन भत्ता र राम्रो काम गर्ने र नगर्ने कर्मचारीबीच तुलनात्मक अध्ययन गरी राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।
आत्मविश्वास, आत्मबल र इमान्दारीका साथ आफूलाई तोकेको जिम्मेवारी पूरा गर्न कर्मचारीलाई आग्रह गर्दै उहाँले भन्नुभयो “ड्युटीका बेलामा टेड युनियनलाई मान्यता नदिनुहोस् ।”

मन्त्री पण्डितले राजनीतिक अस्थिरतालाई दोष दिएर प्रशासनिक अस्थिरता कायम भएको भनी प्रशासनिक निकायले आरोप लगाउने गरेको बताउँदै उहाँले राजनीतिक स्थायित्व दिने काम राजनीतिक दलको हो, प्रशासनिक स्थायित्व दिने काम प्रशासनिक निकायको हो, त्यसैले गलत कुरालाई प्रोत्साहन गर्नु राम्रो होइन भन्नुभयो ।

विकास निर्माण योजना समयमै नसकिँदा जनताले विकासको अनुभूति गर्न नपाएको भन्दै उहाँले भन्नुभयो “आर्थिक वर्षको अन्तिममा विकास बजेट खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्छ ।”

उहाँले प्रजिअलाई जानकारी गराएर एवम् कार्यालयको सूचना पार्टीमा सूचना प्रकाशन गरेर कार्यालय बाहिर जान कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव ताराप्रसाद रिजालले तोकिएको समयमा विकास बजेट खर्च गर्न नसके कर्मचारीको क्षमतामा नै प्रश्न गर्ने ठाउँ रहने बताउँदै इमान्दार भएर काम गरेमा पर्याप्त स्रोतको अभावमा पनि प्रभावकारिता ल्याउन सकिन्छ भन्नुभयो ।

प्रतिक्रिया