स्वास्थ्य चौकीलाई दश लाख पर्ने जग्गा दान

इनेप्लिज २०७१ चैत १३ गते ३:२३ मा प्रकाशित

बाबियाचौर(म्याग्दी), १३ चैत । म्याग्दीको राम्चेका एक व्यक्तिले स्वास्थ्य चौकीलाई रु दश लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ ।

राम्चे स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीय सुकबहादुर तिलीजाले छ रोपनी जग्गा दान गर्नुभएको हो । सो जग्गाको मूल्य रु दश लाख बराबरको रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य फासबहादुर गर्बुजाले बताउनुभयो ।

दुर्गम क्षेत्रका सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गा दान गरेको तिलीजाले बताउनुभयो । सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले करिब रु तीन करोडको लागतमा भवन निर्माण सुरु गरेको हो ।

जग्गादाता तिलीजाले भवनको बिहीबार शिलान्यास गर्नुभयो । उहाँलाई राम्चे आमा समूहले अभिनन्दन र पुख्यौली समूहले पुख्यौली नाच प्रस्तुत गरेर स्वागत गरेका थिए ।

प्रतिक्रिया