बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १६:०६
वासिङटन डिसी 05:21

आम नागरिकलाई कानुनको पहुँच पुर्‍याउन सरकार गम्भीरः मन्त्री आचार्य

इनेप्लिज २०७१ चैत ११ गते १४:३२ मा प्रकाशित

narahari-acharyaझापा, ११ चैत । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले आम नागरिकलाई कानुनमा पहुँच पुर्‍याउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।

कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालयद्वारा झापाको जिविस सभाकक्षमा आज आयोजित कानुन सहायतासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री आचार्यले आर्थिक, सामाजिक, राजनीतिक रुपमा कमजोर रहेका नेपाली जनतालाई निःशुल्क कानुनी सहायता उपलब्ध गराइरहेको बताउँदै राज्यले कमजोरका लागि कानुनी रुपमा अभिभावकत्व प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले राज्यले निःशुल्क रुपमा दिइरहेको कानुनी सहायतालाई अझ फराकिलो र विस्तार गर्न लागिरहेको स्पष्ट पार्दै कानुनी सहायता समितिको केही प्रावधान परिवर्तन गर्न आवश्यक छ भन्नुभयो ।

वार्षिक रु ४० हजार आम्दानी भएका नागरिकहरुलेमात्र निःशुल्क कानुनी सहायता लिन पाउने प्रावधानलाई वर्तमान अवस्थामा परिवर्तन गर्नुपर्ने धारणा राख्दै मन्त्री आचार्यले नेपाल बार एसोसिएसनले विगतमा झैँ अहिले पनि कमजोर नागरिकको पक्षमा उभिदिन आग्रह गर्नुभयो ।

मन्त्री आचार्यले आगामी दिनमा न्याय प्रणालीलाई अझ सरल, सहज एवम् प्रभावकारी बनाउँदै लैजाने भन्दै वर्तमान कानुनको लेखाजोखा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आयोजक मन्त्रालयका सचिव भेषराज शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा झापा जिल्ला न्यायाधीवक्ता रोमनाथ अधिकारी र मन्त्रालयका उपसचिव होमबहादुर केसीले पनि बोल्नुभएको थियो ।

एकदिने सो कार्यक्रममा जिल्ला न्यायाधीश रमेशकुमार खत्री, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी फणीन्द्र दाहाल, सहकारी कार्यालयका प्रमुखहरु एवम् सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

कानुन तथा संविधानसभा एवम् संसदीय मामिला मन्त्री आचार्यले झापा जिल्लाको सदरमुकामस्थित जिल्ला अदालतको अवलोकन एवम् निरीक्षण पनि गर्नुभएको थियो ।

प्रतिक्रिया