खानेपानीका धारा जडानपछि शौचालय प्रयोगकर्ता ह्वात्तै बढे

इनेप्लिज २०७१ चैत ११ गते ५:३१ मा प्रकाशित

water_20140531010048कञ्चनपुर, ११ चैत । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– १० का बासिन्दाका घरमा खानेपानीका धारा जडानपछि शौचालय प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

खोला किनारा, खेतको डिल र सडक किनारामै शौचका लागि बस्ने बासिन्दा हाल शौचालय प्रयोग गर्न थालेका छन् । झलारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले शौचालय बनाउने बासिन्दालाई रु एक हजार पुरस्कार दिने व्यवस्थासँगै खानेपानीको धारा जडानका लागि ३५ मिटर पाइप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेपछि शौचालय बनाउने बढेका हुन् ।

खानेपानीका धारा जडान अघि १०/१५ परिवारका घरमा मात्रै शौचालय रहेका थिए समितिका अध्यक्ष कमलापति भट्टले भन्नुभयो, “हाल धारा जडान भएका शतप्रतिशत बासिन्दाले घरमा शौचालय निर्माण गरी प्रयोग गर्दै आएका छन् ।”

सरसफाइले पु¥याउने फाइदा र शौचालयको प्रयोगमा पहुँच अभिवृद्धि गर्नका लागि घरदैलो कार्यक्रम आरम्भ गरेपछि यसको महत्व सर्वसाधारणले बुझेकाले शौचालयको प्रयोगमा व्यापकता आएको उहाँले बताउनुभयो ।

समितिको सेवा क्षेत्रभित्र पर्ने ८३७ घरधुरीमध्ये ३६३ घरमा धारा जडान गरिएका छन् । “धारा जडान भएका शतप्रतिशत घरमा अनिवार्यरुपमा शौचालय निर्माण गरिएका र धारा जडान नभएका घरका बासिन्दाले समेत सामाजिक प्रतिष्ठा जोगाउनका लागि शौचालय निर्माण गरेका छन्” समितिका कोषाध्यक्ष जयबहादुर विष्टले भन्नुभयो ।

शौचालय निर्माण नगर्नेलाई सामाजिकरुपमा अवहेलना हुने भएकाले पनि शौचालयका प्रयोगकर्ता बढेको उहाँले बताउनुभयो । शौचालयको प्रयोगले पानीजन्य रोगबाट सहजै बच्न सकिने चेतना सर्वसाधारणमा भएकाले शौचालयप्रति संवेदनशील भएको समितिका सदस्य दिलबहादुर ऐरले बताउनुभयो ।

स्वास्थ्य चौकी झलारीका प्रमुख हरि नाथका अनुसार पानीजन्य रोगका बिरामीको सङ्ख्या नगरपालिकाका अन्य वडाको तुलनामा १० नम्बर वडामा निकै कम देखिने गरिएको छ । “सबैका घरघरमा पक्की शौचालय निर्माणसँगै दिशा गरिसकेपछि साबुनपानीले हातधुने बानीका कारण विगतमा देखिँदै आएको आउँ, झाडापखाला, कमलपित्त, टाइफाइड, निमोनियालगायतका रोग घट्दै गएको पाएका छन्” उहाँले भन्नुभयो ।

समितिले प्रतिवर्ष सरसफाइ पहुँच पुर्‍याउनुका साथै शुद्ध पेयजल उपलब्ध गराउनका लागि १५० नयाँ धारा जडान गर्ने लक्ष्य लिएको छ । धारा जडानबापत रु एक हजार ३०० शुल्क लिने गरिएको छ ।

जसमा ३५ मिटर पाइप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । दुई लाख २५ हजार क्षमता रहेको खानेपानी ट्याङ्कीबाट धारा जडान गरेका सर्वसाधारणलाई २४ सै घन्टा पानी उपलब्ध गराइँदै आएको छ ।

प्रतिक्रिया