काठमाडौँमा नक्कली परीक्षार्थी पक्राउ, रौतहटमा आठ निरीक्षक निस्कासित

इनेप्लिज २०७१ चैत ८ गते १४:३९ मा प्रकाशित

slcकाठमाडौँ, ८ चैत । यस वर्षको प्रवेशिका परीक्षाको तेस्रो दिन आज राजधानीमा अनिवार्य गणित विषयमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बालुवाटारस्थित महेन्द्र माध्यमिक विद्यालय केन्द्रबाट सविन रानामगरको प्रवेशपत्रका आधारमा परीक्षा दिइरहेका सञ्जय कार्कीलाई पक्राउ गरिएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।

नक्कली परीक्षार्थी कार्की अहिले प्रहरी हिरासतमा रहेका छन् । उनलाई स्थानीय परीक्षा ऐनअन्तर्गत कारबाही चलाइनेछ भने परीक्षार्थी रानामगरका आठै विषय रद्द हुनेछन् । उनले एक वा दुई वर्ष परीक्षा दिन नपाउने परीक्षा नियन्त्रक द्वारेले बताउनुभयो ।

नियन्त्रक द्वारेले परीक्षा आमरुपमा शान्तिपूर्ण भएकोे जानकारी दिनुभयो ।

रौतहटमा आठ निरीक्षक निस्कासित

यसैबीच, एसएलसी परीक्षाको तेस्रो दिन आज रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट आठ जना निरीक्षक निस्कासित भएका छन् ।

परीक्षा समन्वय समितिबाट खटिएको टोलीले एसएलसी परीक्षामा चिट चोराउँदै गरेका रौतहटको सरस्वती उच्च माध्यमिक विद्यालय खेसरहिया, जयकिसान उच्च माध्यमिक विद्यालय धरहरि, जनता उच्च माध्यमिक विद्यालय कटहरिया, शङ्कर माध्यमिक विद्यालय सरमुजवा र वसन्तपट्टी परीक्षा केन्द्रमा खटिएका एक महिलासहित आठ जना निरीक्षकलाई चिट चोराउँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरी निष्कासन गरेको हो ।

उक्त टोलीले प्राथमिक विद्यालय कर्कच पिपरामा कार्यरत शिक्षक अन्जनीकुमार निधि र प्रावि जिङ्गडवाका शिक्षक वीरेन्द्र चौधरीलाई सरस्वती उच्चमावि खेसरहिया परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गर्दै गरेको फेला पारेको थियो ।

यसैगरी, जनता उमावि कटहरियाका शिक्षक रोशनप्रसाद साह र उमावि खेसरहियाका शिक्षक पवन यादवलाई जयकिसान उमावि धरहरि परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ ।

जनता उच्च माध्यमिक विद्यालय कटहरिया परिक्षा केन्द्रबाट परीक्षा निरीक्षक रेणु चौधरी र शङ्कर मावि परीक्षा केन्द्रबाट काशीराम दासलाई परीक्षार्थीलाई चिट चोराउँदै गरेको अवस्थामा उक्त टोलीले निस्काशन गरेको परीक्षा समन्वय समितिका सदस्य एवम् प्रहरी उपरीक्षक सानुवावु थपलियाले बताउनुभयो ।

अनिवार्य गणित विषयको परीक्षामा जिल्लाभरी अपेक्षाकृत मर्यादित रुपमा सम्पन्न भएपनि केही परिक्षा केन्द्रमा निरीक्षकले चिट चोराउनमा मद्दत पु¥याएको अनुगमनमा सहभागीले बताउनु भएकोछ ।

प्रतिक्रिया