उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पाण्डे अस्पताल भर्ना

इनेप्लिज २०७१ चैत ४ गते १०:०७ मा प्रकाशित

Pradip-Jang-Pandey-FNCCIकाठमाडौँ, ४ चैत । भ्रष्टाचार मुद्दामा मङ्गलबार पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलबार साँझ पाण्डेको बालुवाटारस्थित निवासबाट पक्राउ गरी महाराजगन्जस्थित ब्युरोको कार्यालयमा ल्याएलगत्तै पाण्डेले स्वास्थ्यमा समस्या रहेको बताएपछि उहाँलाई साँझ नै बाँसवारीस्थित गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

पुरानो भ्रष्टाचार मुद्दामा सजाय पाई फरार अभियुक्तको सूचीमा रहेका पाण्डेले आफूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश माग गर्दै दायर रिट मङ्गलबार सर्वोच्च अदालतले खारेज गरेपछि ब्यूरोले पक्राउ गरेको थियो ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले अस्पतालले पाण्डेको स्वास्थ्य अवस्थाबारे दिने प्रतिवेदनअनुसार आज नै उहाँलाई अदालतको जिम्मा लगाउने वा नलगाउने भन्नेबारे तय हुने जानकारी दिनुभयो ।

ब्युरोले अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउने अभियानकै क्रममा पाण्डेलाई पनि पक्राउ गरिएको हो ।

अध्यक्ष पाण्डे तीस वर्षअघि खानेपानी तथा ढल व्यवस्थापनको सरकारी कर्मचारी हुँदा पदको दुरूपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएकोमा हालसम्म फरार सूचीमा रहनुभएको थियो ।

प्रतिक्रिया