आकाशबाट हेर्दा टर्की राताम्ये देखिन्थ्यो । कम्युनिष्ट मुलुक भएको छनक दिन हुनसक्छ, सबै घरहरु ‘लाल’ देखिन्थे । एकहिसाबले सबै घरको बाहिरतिर रातो रंग भएकाले निकै आकर्षक देखिन्थ्यो ।
बिमानस्थल पनि उत्तिकै ठूलो । इस्तानबुलमा जहाजले मैदान टेक्दा टर्किस एयरलाइन्सका दर्जनौँ जहाजहरु देखिन्थे । एसिया, युरोप र अमेरिकालाई जोड्ने काम गरेकाले टर्कीको हवाई व्यापार निकै बढेको भान भयो ।
मेरो लागि टर्की पहिलो यात्रा । अमेरिका पनि पहिलो । ट्रान्जिटको समय मात्र दुई घण्टाको थियो । जहाज अवतरण, सुरक्षा जाँच गर्दागर्दै एकघण्टा बितेको पत्तै भएन । हतार–हतार उडान तालिकालाई पछ्याएँ ।
गाडीले जहाजसम्म पुर्याउन लैजाँदै गर्दा कलाकार आरपी पन्त र भाउजु भेटिनुभयो, उहाँसँग चिनजान भयो । टेलिश्रृंखला ‘तितो सत्य’का कलाकार रहेका आरपी दाई साह्रै मज्जाको । उहाँको व्यक्तित्वको वर्णन गरी साध्य छैन । हामी एउटै कार्यक्रममा सहभागी हुँदैछौँ भन्ने थाहा पाएपछि भाउजु खुसी हुनुभयो ।
दिउँसो २ बजे वासिङ्टन डिसीका लागि उड्यौँ । जहाजमा नेपाली ५–६ जनामात्रै थियौँ ।
टर्किस एयरलाइन्सको नेपालतर्फ उडान गर्ने र अमेरिका उडान गर्ने जहाजको सेवा र सुविधा बिल्कुलै फरक थियो । चालक दलका सदस्यका व्यवहार पनि फरक थियो । गरिब र धनी देशमा उडान गर्दा एयरलाइन्सले फरक–फरक नीति बनाएको रहेछ, मनमा यस्तै कुरा खेल्यो ।
काठमाडौँबाट बिहान सातैबजे इस्तानबुलका लागि उडेकाले मलाई भने निद्राले छोपिरहेको थियो ।
मसँगै सिटमा पूर्वी नेपालका एक जना दाई हुनुहुन्थ्यो । जसलाई मैले टर्की पुगेपछि भेटेको थिएँ । २० बर्षदेखि अमेरिकामा परिवारसहित बस्दै आउनुभएको रहेछ । उहाँ मदिरा पिउन थाल्नुभयो । म भने निदाउन थालेँ । केहीबेरमा खाना आइपुग्यो । म ब्युझिँदा साथमा रहेका दाई खाना खाने तयारीमा हुनुहुन्थ्यो । मैले दाईलाई सोधेँ– यो के खाना हो ? उहाँले जबाफ दिन सक्नुभएन ।
त्यसपछि एयर होस्टेसलाई सोँधे, यो के हो ? उनले मधुर मुस्कनसहित जबाफ फर्काइन– बिफ मिल (गाईको मासुबाट बनेको खाना) !
बिफ ?!? मसँगै सिटमा बसेको दाई नराम्रोसँग झस्किनुभयो । किनकी उहाँ खान ठीक्क अवस्थामा हुनुहुन्थ्यो ।
वी डन्ट इट बीफ (हामी गाईको मासु खाँदैनौँ) ! दाईको यो जबाफ सुनेपछि एयरहोस्टेस अक्क परिन् ।
मैले अरु केही खानेकुरा छ कि भनेर सोधेँ । उनले दुईवटा पाउरोटी ल्याएर दिइन् । अब परियो फसादमा । नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भनेझैँ भयो ।
झोलामा अरु खानेकुरा केही थिएन् । ट्रान्जिटमा कफीबाहेक केही पिउन मन लागेन । जहाजमा छिरेपछि यो हालत !
अब दुईवटा पाउरोटीको भरमा अमेरिका पुग्नुको विकल्प रहेन ।
नेपालीको सपनाको संसार अमेरिका पुग्दा मलाई भने कतै जंगलतिरको बस्तीमा पुगेझैँ भान भयो । जहाजको झ्यालबाट हेर्दा स–साना घरहरुमात्रै देखिएका थिए । मेरो आँखामा भने झल्झली न्युयोर्कका गगनचुम्बी भवन नाचिरहेका थिए । सायद सिंगो अमेरिका नै त्यस्तै होला भन्ने मेरो बुझाइ थियो, त्यसो रहनेछ ।
वासिङ्टन बिमानस्थल भने निकै भव्य लाग्यो । अन्य देशको भन्दा राम्रो । फरक यत्ति थियो, मैले घुमेका जापान, कोरिया, हङकङ जस्ता विकासशील देशले अमेरिकाको त्यही प्रणालीको नक्कल गरेर आफ्नो देशमा झनै नयाँ प्रविधि भित्र्याए । अमेरिकामा भने त्यही बर्षौँ पुरानो सिस्टममा केही सुधारिएको रुप मात्रै देखिन्थ्यो ।
अध्यागमन पार गरेपछि झोला लिनका लागि लाइनमा बस्यौँ । आफूसँगै जहाजमा गएका सबैले झोला लिएर गए । नेपालबाट गएका हामीमात्रै बाँकी रह्यौँ । तर, झोला आइपुगेन । केहीबेरमा माइकबाट मेरो नाम बोलाइयो । के नै भएछ भनेर गएको त टर्किस एयरलाइन्सले माफी माग्दै जहाजकै तर्फबाट एउटा सानो ब्याग भिरायो । त्यसमा एउटा टिसर्ट, टुथपेस्ट र ब्रसमात्रै थिए ।
हामीचाँहि अमेरिकामा । झोलाचाँहि इस्तानबुलमै छुटेछ । ट्रान्जिट समय कम भएकाले झोला ल्याउन नभ्याएको जबाफ दिए एयरलाइन्सका कर्मचारीले । ठेगाना दिए भोलिपल्ट साँझ होटलमै ल्याइदिन्छु भन्न थाले ।
त्यो सुनेपछि आरपी पन्त दाई मलिन अनुहार बनाउँदै दाह्री कन्याउन थाल्नुभयो । भाउजुको अनुहार पनि ओइलाएको फुलझैँ देखियो । उहाँहरुको त औपचारिक कार्यक्रममा लगाउने कपडादेखि सबै सामान लगेजमै थियो । त्यसैले म भन्दा उहाँहरु बढी छटपटीमा हुनुहुन्थ्यो ।
अमेरिका आएको खाइस ! मनभित्रैबाट आफैप्रति रिस पनि उठ्यो । तर पनि सम्हाल्निुबाहेक कुनै विकल्प रहेन ।
एयरपोर्ट बाहिर निस्किँदै गर्दा साथी बिजय थापाको इमेल पाएँ । उहाँले आफू आउन नभ्याएर दाई विश्व थापालाई पठाउनुभएको रहेछ । ‘विश्वको गाउँ’ अमेरिकामा भेटिएका विश्व दाईसँगको पहिलो भेटले नै उहाँप्रति आकर्षित बनायो । सातबर्ष अघि अमेरिका पुगेका विश्व नेपाली समुदायका लागि अति नै समर्पित पाएँ । विश्व दाईको भर्जिनियास्थित घरमा केहीबेर भलाकुसारी गरेपछि उहाँका भाइ विजयजी लिन आइपुग्नुभयो । त्यहाँबाट लागियो, डिसीतर्फ ।
हातमा भिर्ने झोला थियो, त्यसभित्र केही कागजपत्र र ल्यापटप मात्रै थिए । यात्रा गर्दा प्रायः क्याजुअल ड्रेस गर्ने बानी । त्यो पनि मैला भइसकेको थियो । भोलिपल्ट औपचारिक कार्यक्रममा भाग लिनु’छ । फसादमा परियो । नेपालबाट कार्यक्रममा पुगेको सहभागी, अझ त्यसमा पनि मेरै डकुमेन्ट्री समेत देखाउने कार्यक्रम थियो । औपचारिक कार्यक्रमका लागि लगाउने भनेर ल्याएको कपडा र केही उपहार टर्कीमै थन्कियो । यो सम्झेर अघिल्लो साँझबाटै शिरबाट चिटचिट पसिना आउन थाल्यो ।
कार्यक्रमस्थलमा अघिल्लोसाँझबाटै चहलपहल थियो । अमेरिकाको विभिन्न कुनाबाट नेपालीहरु डिसी आइपुगेका थिए । आफू भने आपतमा । भोलि के कपडा लगाउने ? किन्न जाउँ भने कहाँ जाउँ । विजयजीले उहाँकै कपडा लगाउन सुझाउनुभयो ।
त्यति अग्ला अनि पातला विजयजीको कपडा मेरो शरीरमा कसरी मिलोस् ? तर पनि लगाउनु नै थियो ।
वेष्टकोट त जेनतेन मिल्यो । पाइन्ट र सर्ट त यतिठूलो भयो कि कुरै नगरौँ । उहाँको सर्टले मेरो घुँडा छुने, पाइन्टको कम्मर मिले पनि लम्बाई त कति लामो–लामो । के गर्ने बाध्यता परेपछि लगाउनुपर्ने । यता घर छाडेको भोलिपल्टै मैले नयाँ कपडा लगाएको देखेर श्रीमतीजी भने दंग । आफ्नो पीडा भने आफैसँग थियो । विजयजीको कपडा लगाएर हिरोइन मनिषा कोइरालासँग खिचेको यो तस्वीर देख्दा कहिलेकाँही आफैलाई रमाइलो लाग्छ ।
प्रतिक्रिया