ऋण काढेर सडक कालोपत्र

इनेप्लिज २०७१ चैत ४ गते ६:०९ मा प्रकाशित

kalopatreमोरङ (पथरी), ४ चैत । मोरङको कोसी हरैचा– ६ का मोहन पोखरेलले ब्याजमै ऋण काढ्नुभयो ।

अर्का स्थानीयवासी मोहनलाल श्रेष्ठले श्रीमतीका गरगहना बन्धकी राखेर रु ६० हजार ऋण लिनुभयो । उहाँहरु मात्र होइन सो ठाउँका कतिपय सर्वसाधारण ब्याजमै ऋण काढेर कालोपत्र सडकका जुटिरहेका छन् ।

स्थानीय शुक्रबारेबाट गोविनपुर जोड्ने तीन किमी सडकलाई कालोपत्रे बनाउन ऋण काढेको स्थानीयवासी मोहन पोखरेलले बताउनुभयो । उहाँले यस क्षेत्रका सबै कृषक भए पनि गाउँमा स्तरीय सडक बनाउन सबैले ऋण गरेरै सडकमा लगानी गरेको बताउनुभयो ।

कोसी हरैचाको सो सडक निर्माण सम्पन्न गर्न झन्डै रु एक करोड ५० लाख लाग्ने अनुमान गरिएको थियो । यसका लागि कोसी हरैचा नगरपालिकाले रु २५ लाख र मोरङ क्षेत्र नम्बर ८ का सभासद् चन्द्रबहादुर गुरुङले रु सात लाख उपलब्ध गराउने उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिका अनुसार सो क्षेत्रमा सडक निर्माणका लागि अझै २२५ घरधुरीबाट रकम उठाउनुपर्ने हुन्छ । पहिलो चरणमा प्रतिफुट ४०० का दरले रकम सङ्कलन गर्दा निकै रकम अपुग हुने देखिएपछि फेरि रकम थपेर रु एक करोड पुर्‍याउनुपर्ने भएको छ ।

स्थानीय शुक्रबारेबाट गोविनपुर जोड्ने तीन किमी कालोपत्रे सडक अहिले निर्माणाधीन अवस्थामा छ ।

प्रतिक्रिया