बिहीबार, वैशाख २३ २०७८
काठमाडौं १०:१७
वासिङटन डिसी 00:32

जेठ पन्ध्रभित्र संविधान जारी गर्ने गरी वार्ता अघि बढाइनुपर्छ: नेता नेपाल

इनेप्लिज २०७१ चैत ३ गते ९:५२ मा प्रकाशित

Rss_Images_1426581330729_Pro_Ktm_Rss Chautari Samman _Madhav Kumar nepal (1)काठमाडौँ, ३ चैत । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आगामी जेठ १५ भित्र संविधान जारी गर्ने समयसीमासहित वार्ताको सिलसिला विभिन्न ढङ्गले अघि बढाइनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, रासस शाखाको चौथो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानसभाको गरिमा र औचित्यलाई बचाउन चाँडो संविधान ल्याउनाको विकल्प छैन, समय तालिकासहित जेठ १५ भित्र संविधान ल्याउने गरी वार्ता अघि बढाइनुपर्छ, त्यसका लागि न्यूनतम सहमति खोजाँै ।”

पूर्वप्रधानमन्त्री नेपालले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धिलाई संस्थागत गर्न समयमै सचेत हुन जरुरी भएको उल्लेख गर्दै लोकतन्त्रका मूल्य र मान्यतामा प्रश्नचिह्नरहित प्रतिबद्धता देखाउन एमाओवादीलाई आग्रह गर्नुभयो ।

“अहिलेको उपलब्धि सबैको प्रयासबाट भएको हो, नेपाल राष्ट्रलाई केन्द्रमा राखेर जानुपर्छ, पेल्ने र दबाउने कुरा कसैले गर्नुहुँदैन, दुवै किसिमको अतिवाद त्यागेर औचित्यलाई आधार मानेर अघि बढौँ” उहाँले भन्नुभयो ।

सुदृढ लोकतन्त्रको जग नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हो भन्दै उहाँले पेसागत हक, हित र मर्यादा तथा राससको श्रीवृद्धि र दीर्घकालीन स्थायित्वका लागि यहाँका पत्रकारले आफ्नो भूमिकालाई सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग सचिव सूर्य थापाले रासस राष्ट्रलाई आवश्यक भएकाले नै यो अस्तित्वमा रहेको बताउँदै अहिलेको प्रतिस्पर्धी समयमा राससमा स्रोतसाधन र दक्ष जनशक्तिको विकास गरी अन्तर्राष्ट्रिय जगत्मा महत्व बढाइनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले राससको आवश्यकता र औचित्यता अहिले पनि उत्तिकै सान्दर्भिकता छ भन्दै राससको भौतिक स्रोत र साधन तथा जनशक्तिलाई प्रभावकारी बनाई यसको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन जरुरी भएको औँल्याउनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले विकसित प्रजातान्त्रिक मुलुकमा समाचार समितिको औचित्य, भूमिका र सान्दर्भिकता बढिरहेको सन्दर्भमा मुलुकको एक मात्र समाचार समिति राससको औचित्यतालाई राष्ट्रिय नीति निर्माणकर्ताले अनुभूत गर्नुपर्नेमा जोड दिनुभयो ।

राससका पूर्वअध्यक्षसमेत रहनुभएका प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले राससलाई बदलिँदो परिस्थितिसँगै यसको सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी प्रतिष्ठानका इन्चार्ज सुरोजङ्ग पाण्डे, प्रेस चौतारी रासस शाखाका अध्यक्ष कालिका खड्का, सल्लाहकार प्रकाश सिलवाललगायतले श्रमजीवी पत्रकारको हकहितका बारेमा धारणा राख्नुभएको थियो ।

सङ्ग्रौला र भण्डारी सम्मानित, पुरस्कृत
प्रेस चौतारी रासस शाखाले यस वर्षको ‘प्रेस चौतारी रासस शाखा सम्मान–२०७१’ राससका वरिष्ठ कार्यकारी सम्पादक सरला सङ्ग्रौलालाइ र ‘प्रेस चौतारी रासस शाखा पुरस्कार–२०७१ रासस काकँडभिट्टा (झापा)का प्रतिनिधि चन्द्रकला भण्डारीलाई प्रदान गरेको छ । पुरस्कारका साथ रु पाँच हजार र ताम्रपत्र छ ।

चौतारी रासस शाखाको चौथो वार्षिकोत्सवका अवसरमा ती सम्मान र पुरस्कार पूर्वप्रधानमन्त्री नेपालले वितरण गर्नुभयो । सङ्ग्रौला राससमा दुई दशकभन्दा बढी समयदेखि समाचार सम्पादन र नेपाली समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्छ भने भण्डारी झापाको काकँडभिट्टामा स्थानीय समाचारदाताका रुपमा पाँच वर्षदेखि कार्यरत हुनुहुन्छ ।

पुरस्कृत व्यक्तित्व भण्डारीले आफ्नो पेसालाई थप प्रभावकारी बनाउन पुरस्कारले प्रोत्साहन मिलेको बताउनुभयो । यसअघि चौतारी रासस शाखा पुरस्कार राससका वरिष्ठ सम्पादक तीर्थप्रसाद भट्टराई र रासस नवलपरासीका समाचारदाता विद्रोही गिरीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया