पहिलो पटक ‘मेडिक मोबाइल’मार्फत गर्भवती सेवा

इनेप्लिज २०७१ चैत ३ गते ७:४४ मा प्रकाशित

image6173403xबागलुङबजार, ३ चैत । महिलालाई गुणस्तरीय सेवा दिन पहिलो पटक यहाँ ‘मेडिक मोबाइल’मार्फत सेवा दिन थालिएको छ ।

सरकारले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा स्वास्थ्य सेवा सुरु गरेको हो । ‘मेडिक मोबाइल’ लागू गरिएपछि गर्भवती भएदेखि सुत्केरी नहुने समयसम्म स्वास्थ्यसम्बन्धी अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वयम्सेविकाले मोबाइलमार्फत जानकारी दिनेछन् ।

सबै क्षेत्रका गर्भवतीको स्वास्थ्य प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य स्वयम्सेविलाई तालिम दिने भएको छ । नेपालमै पहिलो पटक बागलुङ जिल्लामा गर्भवतीको सम्पूर्ण जानकारी ‘मेडिक मोबाइल’ मा राखेर स्वास्थ्य परीक्षण गर्ने गरी सो सेवा लागू गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा जिडी ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्ने छ ।

मातृ मृत्युदर कम गर्नका लागि ग्रामीण क्षेत्रमा रहेका गर्भवतीको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी गराउन जिल्लाका ५८ गाविस र एक नगरपालिका सो सेवा लागू गरिएको छ ।

जिल्लाका चार गाविस हटिया, पैयुँपाटा, बाटाकाचौर र बुर्तिबाङमा लागू गरिएपछि यसलाई जिल्लाभर सुरु गरिएको छ । मन्त्रालयका सहसचिव ठाकुरले जिल्ला स्वास्थ्यकर्मीका जिल्ला अध्यक्ष पुष्पा श्रेष्ठलाई मेडिक मोबाइल हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नुभएको थियो ।

महिला स्वास्थ्यकर्मीलाई दिइएको मोबाइलमा ग्रामीण क्षेत्रमा गर्भवती भएकाहरुको सुरुदेखिको विवरण राखेर स्वास्थ्य संस्थामा पठाई त्यसकै आधारमा उसको गर्भ परीक्षण गर्दै जाने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताउनुभयो ।

गाविस र विभिन्न क्षेत्रका सुत्केरी हुनेको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई विभिन्न समयमा स्वयम्सेविकाले एसएमएसमार्फत जानकारी दिने उहाँको भनाइ छ । बागलुङ जिल्लाबाट ‘पाइलट प्रोजेक्ट’को रुपमा सुरु गरिएको कार्यक्रम प्रभावकारी र लोकप्रिय भएमा आगामी दिनमा देशका सबै जिल्लामा लागू गर्ने गरी तयारी गरिने मन्त्रालयका सहसचिव डा ठाकुरले बताउनुभयो ।

जिल्लामा एक वर्षको अवधिमा सात हजार २०० सुत्केरी हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया