शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०७:०९
वासिङटन डिसी 20:24

विकास निर्माणमा अनावश्यक राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

इनेप्लिज २०७१ चैत २ गते ९:०८ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौँ, २ चैत । प्रधानमन्त्री सुशील कोइरालाले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ तराई द्रूतमार्ग अगाडि बढाउन सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्नखालका समस्या आएपछि मुलुकको प्रतिष्ठामा नै आँच आएको उल्लेख गर्दै उहाँले ती दुई आयोजना समयमा नै निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा प्रधानमन्त्री कोइरालाले विकास निर्माणलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।

विमानस्थल र द्रूतमार्ग कुन मोडलमा अगाडि बढाउने हो त्यसको ढाँचा तय गर्न आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सार्वजनिक निजी साझेदारीमा (पिपिए) वा निर्माण, सञ्चालन, स्वामित्व र सञ्चालन (बुट) मोडल कुन हो त्यो पहिले निर्धारण गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गर्दछु ।”

प्रजातन्त्र आएको लामो समय भए पनि विकास हुन नसक्नुको पछाडि सरकारको संस्थागत प्रणाली नहुनु र काम कारबाहीमा प्र्रभावकारिता नहुनुले काम गरेको स्पष्ट पार्दै प्रधानमन्त्री कोइरालाले अब कुनै पनि बहानामा आयोजना रोक्न नमिल्ने धारणा राख्नुभयो ।

मुलुकमा स्थायी शान्ति र राजनीतिक स्थायित्व नहुँदासम्म विकास निर्माणको काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सहज वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

विगतमा लगानीको वातावरण नभएकाले विकास तथा आर्थिक समृद्धि हुन नसकेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले भएका स्रोत तथा साधनलाई उपभोग गर्न सरकारी संयन्त्रको पनि प्रभावकारी परिचालनको आवश्यकता औँल्याउनुभयो ।

युवाको विदेश पलायन मुलुकको समृद्धिका लागि घातक भएको स्पष्ट पार्दै प्रधानमन्त्री कोइरालाले सहमतिका आधारमा संविधान जारी गर्न प्रमुख राजनीतिक दलले सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत नेकपा (माओवादी) लगायतका विपक्षी दलसँग पनि सहमतिको लागि प्रयास जारी रहेको जानकारी दिँदै उहाँले मुलुकले फेरि पनि द्वन्द्व र विग्रह धान्न नसक्ने स्पष्ट पार्नुभयो ।

संविधान निर्माणका धेरैजसो विवादित विषयमा दलहरुबीच सहमति भइसकेको जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले राज्य पुनःसंरचनाको विषयमा बाँकी रहेको विवाद पनि संवादका माध्यमबाटै हल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “संविधान सहमतिका आधारमा नै निर्माण हुन्छ, सहमति त वार्ताको टेबलमा बसेर हुन्छ, विगतमा लडाकु र हतियारको व्यवस्थापन पनि सहमतिमा नै भयो, लडाकु शिविर खाली गर्ने काम सम्पन्न भयो । हाल देखिएको विवाद पनि समाधान हुन्छ ।”

लोकतान्त्रिक संविधान निर्माण गर्नेमा सबैको एकमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सङ्घीयता, समावेशीतालगायतका विषयबाट कोही पनि बाहेक हुन नसक्ने स्पष्ट पार्नुभयो ।

विकास निर्माणको काममा जग्गा प्राप्ति र मुआब्जाको विषयमा समस्या रहने गरेको स्पष्ट पार्दै उहाँले गलत मनसाय राख्नेको काम सधैँ वातावरण धमिल्याउनेतर्फ नै केन्द्रित हुने भएकाले त्यस्ता अवरोधलाई हटाउन सबैको सहयोगको जरुरी रहेको बताउनुभयो ।

सरकार जग्गा प्राप्ति तथा मुआब्जा वितरणमा देखिएका समस्या समाधान गर्ने तयारीमा रहेको जानकारी दिँदै कुनै पनि बहानामा राष्ट्रिय आवश्यकताविरुद्ध जान नसकिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कोइरालाले विकास निर्माणको काममा सिद्धान्त र व्यवहारलाई साथसाथै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

खोक्रो नाराले केही पनि हुन नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘‘विकास निर्माणको काममा राष्ट्रिय सहमति हुनुपर्ने र हालको सकारात्मक अवसरलाई सदुपयोग गर्नु पर्दछ ।’’

सरकारी निकायबीच नै समन्वयको अभावमा बनिसकेको सडक भत्काउने काम भएकामा आपत्ति प्रकट गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नगर्न सचेत गराउनुभयो ।

असारमा काम सम्पन्न गर्ने प्रवृत्ति रोक्न ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री कोइरालाले स्वदेशी प्राविधिकले पहिला काम पाउने व्यवस्था गर्न तथा न्यून दरमा गरिने बोलपत्रको समस्या हटाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया