वार्ता ‘सकारात्मक’ भने पनि विपक्षी आन्दोलनको घोषणा गर्दै
काठमाडौँ, १ चैत । एकीकृत नेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चाले सत्तारुढ दलसँग भएको वार्ता सकारात्मक भए पनि आन्दोलन घोषणा गर्ने भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज आन्दोलनमा जाने बताइआएको विपक्षी मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाबीच संविधान निर्माण सहमति खोज्न विपक्षी वार्तामा बस्ने हो कि होइन भन्ने सम्बन्धमा निर्णायक वार्ता भएको थियो ।
दुई शीर्ष नेताबीचको वार्तापछि एमाओवादी अध्यक्ष दाहालले वार्ता सकारात्मक भए पनि शान्ति सम्झौताका सहयात्री र आन्दोलनरत सहयात्री दलहरुबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने सुनिश्चतता नभएकाले वार्तासँगै आन्दोलन पनि अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
“प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भयो, म यो कुरा ३० दलीय मोर्चाको बैठकमा राख्छु,” अध्यक्ष दाहालले भन्नुभयो – “तर शान्ति सम्झौताका सहयात्री दलहरुबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने आश्वस्त गर्न प्रधानमन्त्री हिच्किचाउनुभएपछि मोर्चाले आन्दोलन रोकेर बस्न मिल्दैन ।”
अध्यक्ष दाहालले मोर्चाले यही फागुन २६ सम्म सहमतिका लागि केही पहल हुन्छ भन्ने आशा गरेको भए पनि केही उपलब्धि नभएपछि ३० गतेसम्म पर्खेको र शनिबारको वार्तामा पनि सत्तापक्षले सहमतिका लागि आफ्नो आधार कात्तिक १७ गतेको नौ बुँदे धारणा नै अघि सारे पछि बैठकमा तीतो वातावरण बनेको अवगत गराउनुभयो ।
स्मरण रहोस्, गत कात्तिक १७ गते काँग्रेस र नेकपा (एमाले) लगायत सत्तापक्षीय दलले संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा दुई तिहाइ बहुमतसहित संविधानका विवादित विषयमा नौ बुँदे साझा अवधारणा प्रस्तुत गरेका थिए ।
अध्यक्ष दाहालले आन्दोलनका कार्यक्रम घोषणा भए पनि वार्ताबाटै सहमति खोज्ने र छिटो संविधान बनाउने आफूहरुको प्रतिबद्धता भने कायम नै रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले अभिव्यक्त गरेको भावना सहमतिमै रहेकाले वार्ताको प्रक्रिया भने नरोकिने जानकारी दिनुभयो ।
गत माघपछि दलहरुबीच संवाद हुन नसकिरहेका बेला प्रधानमन्त्रीले पटक–पटक वार्ताका लागि लिखित आह्वान गरेपछि सुरु भएको सत्तापक्ष र विपक्षी मोर्चाबीचको बैठकमा संविधानका विवादित चार विषयमध्ये सङ्घीयताको विवाद नै प्रमुख चुनौतीका रुपमा देखिएको नेताहरुले बताएका छन् ।
विपक्षी मोर्चाले गत फागुन १६ राजधानीमा आयोजना गरेको जनप्रदर्शन र सत्तापक्षले संविधान निर्माणको प्रक्रिया स्थगन गरेपछि बसेको दुई पक्षको बैठक सकारात्मक हुने अपेक्षा गरिएपनि त्यसो हुन सकेन ।
वार्तापछि काँग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता दीलेन्द्रप्रसाद बडूले दुई नेताबीच संविधानका विवादित विषयमा गम्भीर छलफल भएको जानकारी दिँदै वार्तालाई निरन्तरता दिने सहमति भएको बताउनुभयो ।
“वार्तामा दुवै नेताहरुले वार्ता र संवादद्वारा नै संविधान निर्माणका विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने आधार र विश्वास बलियो बन्दै गएको विचार व्यक्त गर्नुभयो”– प्रवक्ता बडूले भन्नुभयो ।
शुक्रबार र शनिबारका वार्ताका क्रममा जे जस्तो उतारचढाव आएको भए पनि प्रधानमन्त्री कोइरालाले आपसी संवादबाट नै सहमति कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री कोइरालाले आपसी संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट सहमति कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाललाई वार्ताका क्रममा हुने उतारचढावबाट विचलित नभई संवादको प्रक्रियालाई निरन्तरता दिएर संविधान निर्माणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन आग्रह गर्नुभएको थियो ।
सत्ता पक्षको आग्रहमा आन्दोलन स्थगन गरेर वार्तामा आएको विपक्षी मोर्चाले यसअघि वार्ताबाट ठोस उपलब्धि ननिस्किए चैत १ गते पत्रकार सम्मेलन गरी दोस्रो चरणका आन्दोलन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया