मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:११
वासिङटन डिसी 17:26

एक दिवसीय राष्ट्रिय क्रिकेटमा आर्मी र विराटनगरको जीत, आर्मी सेमिफाइनलमा

इनेप्लिज २०७१ फागुन ३० गते १५:०७ मा प्रकाशित

cricket123431-300x253काठमाडौँ, ३० फागुन । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. १ विराटनगर विजयी भएका छन् ।

लगातार चार खेलमा जीत निकालेको आर्मी समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने विराटनगरको जीतले उसलाई दोस्रोबाट तेस्रोमा पुर्‍याएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा विराटनगरले क्षेत्र नं. ७ जनकपुरमाथि आठ विकेटको फराकिलो जीत दर्ता गरायो ।

त्यस्तै, पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा आर्मीले क्षेत्र नं. ८ पोखरालाई मात्र तीन विकेटले स्तब्ध पा¥यो ।

टस हारेर व्याटिङको निम्तो पाएको जनकपुरले ४२.३ ओभरमा सबै विकेट गुमाउदै १६१ रनको लक्ष्य दिन सकेको थियो ।

जवाफी व्याटिङमा आएको विराटनगरले मात्र दुई विकेटको क्षतिमा २४.२ ओभरमै सजिलै लक्ष्य भेट्टायो ।

विराटनगरलाई सहज जीत दिलाउन दुई विकेट पनि लिएका मेहबुब आलमले ४९ बलमा अविजित रहँदै ६८ रन बनाउनु भयो र खेलको प्लेयर अफ द म्याच पनि चुनिनुभयो । त्यस्तै पुष्प थापाले अविजित रहँदै बनाएको ४२, अविनाश कर्णले २३ र सन्नी पुनले १४ रन जोडेपछि विराटनगरको जीत सुनिश्चित भयो ।

यसअघि जनकपुरका कुन्दन सिंहले ३२ तथा सुमितचन्द्र देवले २१ रन बनाए भने अन्य व्याट्सम्यानले उल्लेखनीय रन बटुल्न सकेनन् ।

विराटनगरका लागि मेहेबुबका अलावा मोहम्मद हजरत अलीले तीन, मन्जीत श्रेष्ठ तथा लाक्पा लामाले दुई–दुई विकेट चट्काएका थिए ।

सन्जोग कर्ण र सुशान्त मण्डलले एक–एक विकेट लिन बाहेक जनकपुरका अन्य बलरले कुनै विकेट लिन सकेनन् ।

अर्काे खेलमा टस जितेर व्याटिङ गरेको पोखराले पुरै ओभर खेल्दै आठ विकेट गुमाएर १९६ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको आर्मीले ४५.४ ओभरसम्म खेल्दै सात विकेट गुमाएर मात्र लक्ष्य भेट्टायो ।

आर्मीका प्लेयर अफ द म्याच महेश क्षेत्रीले ७० रन बनाउनुभयो । त्यसैगरी, राहुल विश्वकर्माले ३३, अविजित रहेका राजेश पुलामीले २६, इन्द्रकमल मानन्धरले २२, सुनाम गौतमले १६, विनोद भण्डारीले सात तथा अनिल मण्डल र नरेश बुढाएरले एक–एक रन बनाए ।

यसअघि पोखराका विधान श्रेष्ठले अविजित रहँदै ५८ तथा सन्तोष भट्टराईले ३० रन बाहेक अन्यले राम्रो स्कोर बनाउन सकेनन् र जीत सम्भव भएन ।

पोखराका व्याट्सम्यानलाई रोक्ने क्रममा आर्मीका अविनाश कर्ण, विक्रम सोभ र राजेशले दुई/दुई तथा चन्द्र साउद र राहुलले एक–एक विकेट लिएका थिए ।

पोखराका करण केसी र निश्चल पाण्डेले दुई–दुई तथा दीपेश श्रेष्ठ, सुशील कँडेल र प्रदीप खरेलले एक–एक विकेट लिएका थिए ।

दुवै खेलका ‘म्यान अफ द म्याच’ले डोमियर सपिङ एण्ड सुटिङ सेन्टरको तर्फबाट रु. तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गर्नुभयो ।

प्रतियोगिता अन्तर्गत शनिवार टियू मैदानमा क्षेत्र नं. ४ भैरहवा र क्षेत्र नं. ३ काठमाडौँ तथा पुल्चोकमा क्षेत्र नं. १ विराटनगर र क्षेत्र नं. ५ नेपालगन्जवीच भिडन्त हुनेछ ।

प्रतिक्रिया