सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०९:४६
वासिङटन डिसी 23:01

नेता र प्रहरी वाग्मती सफाइमा

इनेप्लिज २०७१ फागुन ३० गते ९:१२ मा प्रकाशित

Rss_Images_1426319203783_KRG-KTM- Sarsafai abhiyanकाठमाडौँ, ३० फागुन । वाग्मती नदी सफाइ महाअभियानको ९६औँ शृङ्खलामा आज त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार आसपास तथा सुन्दरीघाट क्षेत्रमा सफाइ गरिएको छ ।

सधैँजसो राजनीतिक गतिविधिमा व्यस्त रहने नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले आज त्यस क्षेत्रमा हिलाम्य र धुलाम्य बन्दै फोहर व्यवस्थापन गर्नुभयो । उहाँलाई स्थानीयवासी मोहन बस्नेत, किरण देवकोटा, किशोर गौतम तथा व्यवसायी रामकृष्ण कुँवरलगायतको समूहले सहयोग पु¥याएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीका डिबी थापाले कम्मरभन्दा माथिसम्म भिजेर फोहर निकालेकाले उहाँलाई उत्कृष्ट अभियन्ता घोषणा गरिएको थियो भने विशेष नाचगान तथा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

वाग्मतीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउन बाग्द्वारबाट सुरु भएको सो महाअभियान विगत केही हप्तादेखि बल्खु हुँदै त्यस क्षेत्रको सफाइमा जुटेको छ । महाअभियान अब एक महिनापछि चोभारमा पुगेर अन्त्य हुने छ ।

सो महाअभियानलाई मुख्यसचिव लीलामणि पौड्यालले नेतृत्व गर्दै प्रत्येक शनिबार सफाइमा संलग्न बन्दै आउनुभएको छ ।

सो अवसरमा नेता श्रेष्ठले विगतमा त्यस नदीमा आफूले पानी खाने तथा नुहाउने गरेकोे स्मरण गर्दै मानवजन्य तथा रसायनजन्य फोहर मिसाइएकाले प्रदूषण बढेको भए पनि अब नदी क्षेत्रमा फोहर गर्न नहुने भावनाको विस्तारै विकास भएको बताउनुभयो ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले वाग्मती सांस्कृतिक धरोहरका रुपमा महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले नदी विगतमा भन्दा सफा हुँदै गएको जिकिर गर्नुभयो । युरेसिया रेयुकाइका प्रतिनिधि चक्रबहादुर चन्द र चन्दा थापाले नदी प्रदूषणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया