बुधबार, मंसिर १७ २०७७
काठमाडौं १५:३०
वासिङटन डिसी 04:45

प्रचण्ड र वैद्यसहित चार माओवादी नेतालाई पूर्व लडाकुको मर्मस्पर्शी पत्र

इनेप्लिज २०७१ फागुन ३० गते ८:५७ मा प्रकाशित

 

6663-335x218

– नवराज सिंखडा ‘जिज्ञासु’/हरि भण्डारी

सम्माननीय कमरेड प्रचण्ड, कमरेड किरण, कमरेड बाबुराम, कमरेड विप्लव तथा कमरेड मात्रिका यादवज्यु,

सर्वप्रथम यो क्षितिजपारिबाट यो श्रमिक युवाको तर्फबाट क्रान्तिकारी जोशिलो रातो सलाम टक्र्याउन चाहन्छु । हाम्रो देश नेपालको सामाजिक, आर्थिक, राजनीतिक भौगोलिक परिवेश, नेपाली जनताको खस्कदो जीवनस्तर तथा नेपाली कम्युनिस्ट आन्दोलनमा दिनानुदिन हाबी भएको प्रतिगमनबाट म जस्ता कैयौं क्रान्तिकारी युवालाई चिन्तित बनाएको छ ।

हुन त म परिवार पाल्नकै निम्ति विदेशीको गुलामी गर्न मरुभूमि आइपुगेको मान्छे यति धेरै चिन्ता नगरेको भएपनि हुन्थ्यो तर हुन्थ्यो भनेर मात्र हुदोरहेनछ । यो मनले मान्दोरहेनछ त्यसैले यहि इन्टरनेटको माध्यमबाट तपाइहरु ४ वटै माओवादी नेतृत्वलाई केही कुरा भन्न मन लाग्यो र लेख्ने दुस्साहस गरे ।

मैले भनिरहनुभन्दा पनि यहाँहरुले महसुस गरिरहनुभएकै कुरा हो आज हाम्रो देश नेपाल संक्रमणकालीन अवस्थामा छ, प्रतिगमनको उदय भइसकेको छ । जनताका हक अधिकारहरुलाई केही मुठ्ठीभरका मान्छेहरुले तानाशाही रुपबाट कब्जामा लिएर शासन गर्न सुरु गरिरहेका छन् ।

१० वर्ष जनयुद्ध १९ दिने जनआन्दोलन मधेश आन्दोलनलगायत अधिकार प्राप्तिको निम्ति भएका हरेक आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई रद्दीको टोकरीमा फ्याँकेर पुरानै एकात्मकवादी सर्वसत्तावादी र तानाशाहवादी शासन चलाउने दुष्प्रयास गरिरहेका छन् ।

बिगतमा भएका शान्ति सम्झौता १२ बुँदे समझदारीहरुलाइ तोडिएको छ । जसको प्रत्यक्ष उदाहरण अहिले संविधानसभामा भइरहेको गतिविधिलाइ देख्न सकिन्छ । हो म जस्ता हजारौ युवायुवती दाजुभाइ दिदीबहिनीले यो देशको आमूल परिवर्तनको खातिर आफ्नो घरपरिवार इष्टमित्र साथिसङगी गाउँ समाजको साथ छाडेर बलिदानी दिन कम्मर कसेका थिए प्राण आहुती दिएका थिए त्यसको सबुत प्रमाण तपाईहरुसँग नै छ ।

आज ती सपनाहरु, ती लक्ष्यहरु, ती उदेश्यमाथि धावा बोल्दै अनि ती परिवर्तनका निम्ति भाँचिएका हातहरु, धुजाधुजा भएर चिरिएका छातिहरु अनि गोलीले छिन्नभिन्न भएका शरीरहरु अनि बगेका रगतमाथि प्रतिगमनकारीहरु तथा राजतन्त्रका मतियारहरुले रजाई गरिरहेका छन् ।

आखिर किन आयो यो अवस्था आखिर कसले निम्त्यायो यो अवस्था ? कसको कारण आयो ? यी सब परिस्थिति सिर्जना हुनुमा तपाइहरु अनि हामी नै दोषी छौं । के तपाइहरुले यी कुराहरु कहिल्यै गम्भीर भएर सोच्नुभएको छ ? ती विगतका दिनहरु सम्झदा तपाईहरुको मुटु चकिर्दैन ? हिजो वर्गबैरीले तपाईहरुलाई ताकेको गोली आफ्नो छातिमा थाप्न तयार हुने, थाप्ने ती महान वीरहरु आज कहाँ छन् ? कुनै लेखाजोखा छ ? कहिल्यै सम्झनुभएको छ तिनीहरुको बारेमा ? यदि सम्झनुभएको छ बिगतको याद छ भने आज यो गम्भीर परिस्थिति आउँदा पनि किन गम्भीर बन्ने प्रयत्न गर्नुहुन्न ?

किन आफ्नै स्वार्थ लोभ लालच र मोहमा फसिरहनु भएको छ ? किन सधै आफ्नै आन्तरिक लफडामा फसिरहनुभएको छ ? किन विशाल पार्टी फुटाएर टुक्राटुक्रा पार्नुभयो ? टुक्राटुक्रा पारेर के उपलब्धी हासिल गर्नुभयो ? के लक्ष्य र उद्देश्यहरु पूरा भए ? एकपटक सोच्नुस आन्तरिक कलह, फुट, स्वार्थले त्यत्रो पार्टीको हैसियत के भयो ? जनतामा कस्तो प्रभाव प¥यो ? त्यसैको परिणाम आज भोग्दै आएको कुरा स्वीकार्नैपर्छ ।

कतिन्जेल्सम्म जारी रहन्छ आन्तरिक कलह ? कहिले सम्म फसिरहने हो नेपाली जनता परिवर्तनका लागि लडेका वीरहरु तपाई हाम्रो स्वार्थको पन्जामा ? कहिले सम्म चुहिरहने हो त्यो छोरो गुमाएको आमाको आखामा आँसु ? कहिले सम्म टिलपिल टिलपिल भैरहने हो ती श्रीमान् गुमाएकी नारीको आखामा आशु ? अनि कहिले पाउने हुन न्याय बाबू गुमाएर सहाराबिहीन भएका छोराछोरीहरुले ? कहिले पूरा हुने हुन सेनाको गोली लागेर घाइते भएका ती अपाङहरुको लक्ष्य ?

अनि कहिले हुने हुने हो परिवर्तनका निम्ति बगेका रगतहरुको सम्मान ? जनताले जवाफ मागिरहेका छन् । आजसम्म दिन नसकेको जवाफ अब ती प्रतिगमनकारीहरुको कब्जामा देश गइसकेपछि दिन सम्भव छैन । त्यसैले यी बिगतका कहालीलाग्दा क्षणहरुको समीक्षा गरौं अनि देशलाई बर्बाद हुनबाट जोगाउन बिगतका उपलब्धिहरुको रक्षा गर्नलाई सबै माओवादीहरु एक हुनुको बिकल्प छैन ।

हिजो गल्ती सबैबाट भएका छन् सबैले आफ्नो ठाउँबाट आत्मालोचना गरौं रिस राग द्वेष, लोभ, मोह, दम्भ, अहंकार र स्वार्थ सबै छाडौं एकले अर्काप्रति हेर्ने नजरहरु परिवर्तन गरौं र एकताबद्ध भई जनतासामु गएर माफी मागौं जनताले एक चड्कन लगाए चड्कन खान तयार बनौं । किनकी रक्षक र भक्षक दुबै जनता हुन् । आफ्ना गल्तीकमजोरीहरु पनि जनतासामु खुलेर भनौं र प्रतिगमनकारीहरुले गरेको षड्यन्त्र पनि जनतासामु पर्दाफास गरौं ।

आत्मसमर्पण गरे बरु जनतासामु नै गरौं हैन भने फेरि जनतालाइ साक्षी राखी एकपल्ट शासक विरुद्ध लड्ने हिम्मत गरौं । उनीहरुले २०४७ फर्काउने दुस्साहस गर्छन भने हामी पनि २०५२ मा फर्काउन किन खुट्टा कमाउने ? पक्कै पनि जनताले साथ दिनेछन् अधुरा सपनाहरु पूरा गर्छौ भन्ने विश्वास नेतृत्वले दिलाउन सक्छ भने म जस्तै विदेशिएका हजारौं युवाहरु आफ्नो स्वदेश फिर्न तयार छौं र हुन्छन् ।

थन्किएका बन्दुकहरु चलाउन तयार छन मर्दा मर्दै बाँचेका नाफाको जिन्दकी फेरि गरिब निमुखा सर्वहारा वर्गको उत्थान, अन्याय–अन्यचार, थिचोमिचो शोषण दमनका विरुद्ध तथा राष्ट्र र राष्ट्रियताका पक्षमा बलिदानी दिन तयार हुनेछौं, हुनेछन् ।

त्यसैले कमरेडहरु बेलैमा सोचौं, बिचार गरौ गम्भीर भएर एक बन्ने प्रयत्न गरौं एक्लाएक्लै हिड्दा के हुन्छ हामीले भोगिसक्यौ यो भन्दा धेरै भोग्न जरुरी छैन होला । अन्यथा भोलि तपाई हामी त सकिन्छौं, प्राप्त उपलब्धिहरु त गुम्छन नै सिङगो कम्युनिष्ट आन्दोलन नै धरापमा नपर्ला भन्न सकिन्न । (फेसबुकबाट)

 

 

प्रतिक्रिया