घुर्ने समस्याबारे छलफल हुने

इनेप्लिज २०७१ फागुन २८ गते ७:५२ मा प्रकाशित

Snoring-Couple-750x500बनेपा, २८ फागुन । नाक, कान र घाँटी विशेषज्ञ चिकित्सकको तीनदिने सातौँ राष्ट्रिय सम्मेलनमा घुर्ने समस्याबारेमा छलफल गरिने भएको छ ।

नाक, कान र घाँटी विशेषज्ञ समाजको आयोजनामा सुरु भएको सो सम्मेलनमा नाक, घाँटी र कानको सुन्दरता कसरी कायम गर्ने तथा घाँटीको अर्बुदरोग विषयमा अन्तर्राष्ट्रिय ज्ञान, सीप र अभ्यासबारे आदानप्रदान हुने धुलिखेल अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ तथा आयोजक समितिका सचिव डा विकासलाल श्रेष्ठले जानकारी दिनुभयो । मलेसिया, दक्षिण कोरिया, भारतमा गरिएका नाक, कान र घाँटीको शल्यक्रियाको अभ्यास बारेमा पनि छलफल हुनेछ ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय रुपमा देखिएको चुनौती र अवसरको सदुपयोगका विषयमा तथा शल्यक्रियामा आएका नयाँ नयाँ प्रविधि र दृष्टिकोणका बारेमा पनि छलफल हुने छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५० कार्यपत्रमाथि छलफल हुने छ । सम्मेलनमा धुलिखेल अस्पतालमा नाक, कान र घाँटीको शल्यक्रिया गरेको प्रत्यक्ष प्रसारण गरी देखाइएको छ । सम्मेलनमा विदेशीसहित देशभरबाट १५० नाक, कान र घाँटी रोग विशेषज्ञ सहभागी छन् ।

यसैबीच जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री खगराज अधिकारीले मिर्गौलासम्बन्धी रोग लाग्न नदिन सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।

आरोग्य प्रतिष्ठान ललितपुर र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले धुलिखेलमा संयुक्त रुपमा आयोजना गरेको विश्व मिर्गौला दिवसका अवसरमा आयोजना भएको जनचेतनामूलक कार्यक्रममा उहाँले मिर्गौला रोगबाट पीडितका लागि सरकारले रु आठ लाखसम्म सहयोग गरेको जानकारी दिनुभयो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा ३० लाख जनसङ्ख्यामा कुनै न कुनै रुपमा मिर्गौलासम्बन्धी समस्या भएको र बर्सेनि तीन हजारको हाराहारीमा मिर्गौला बिग्रिएका बिरामी भेटिएको बताउनुभयो ।

उहाँका अनुसार मधुमेह, उच्च रक्तचापका कारण मिर्गौलासम्बन्धी रोग लाग्छ । त्यसका लागि उहाँले प्रशस्त मात्रामा पानी पिउन सुझाव दिनुभयो । कार्यक्रममा कलाकार हरिवंश आचार्यलगायतले साङ्गीतिक प्रस्तुतिसमेत देखाएका थिए । त्यसअघि मिर्गौला रोगसम्बन्धी प्लाकार्ड बोकिएको पदयात्रा गरिएको थियो ।

प्रतिक्रिया