इनरुवा, २८ फागुन । सुनसरी जिल्लाका बालबालिका तथा विद्यार्थीका लागि तीनदिने शान्तिदूत तालिम यहाँ सुरु भएको छ ।
क्षेत्रीय दङ्गा नियन्त्रण कार्यालय दुहवी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयोजनमा हिजोदेखि सुरु भएको सो तालिममा सदरमुकाम इनरुवासहितका ८० बालबालिकाको सहभागिता छ ।
प्रहरी नागरिक हातेमालो अगुवा शान्तिदूत कार्यक्रमअन्तर्गत तालिम सुरु भएको जानकारी सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले दिनुभयो ।
जिल्लाको शान्ति सुरक्षा मजबुद पार्ने, जनता बिना बर्दीका प्रहरी भएको तथा प्रहरी जनताको साथी भएको सन्देश दिन र जनता तथा नागरिकसँगको सम्बन्ध सुमधुर पार्ने उद्देश्यका साथ प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका विभागको संयोजनमा तालिम सुरु गरिएको हो ।
नागरिक, प्रहरी र बालबालिकालाई समेत प्रहरी साथी भएको सन्देश दिनका लागि तालिम गरिएको प्रहरी नायब महानिरीक्षक मीगमार लामाले बताउनुभयो ।
तालिममा प्रहरी नायब महानिरीक्षक लामा, प्रहरी निरीक्षक विपीन गौतम, प्रमिला घिमिरे र विवेचना बन्जारालगायतले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया