सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०४:०७
वासिङटन डिसी 18:22

आन्दोलन र वार्ता सँगसँगै लैजाने: एमाओवादी सचेतक पोखरेल

इनेप्लिज २०७१ फागुन २७ गते १२:२३ मा प्रकाशित

giriraj-mani-pokhrelलहान, २७ फागुन । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सचिव एवम् पार्टीका सचेतक गिरिराजमणि पोखरेलले ३० दलीय मोर्चाले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ सिरहाले आज बिहान लहानमा आयोजना गरेको पत्रकारसम्मेलनमा सचेतक पोखरेलले आन्दोलन र वार्ता एकअर्काका परिपूरक भएकाले मोर्चाले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताउनुभयो ।

सत्तारूढ दलसँग फागुन ३० गतेसम्ममा सहमति नभए ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्नेसमेत बताउनुभयो । उहाँले विभिन्न पक्षको आग्रहमा परिणाममुखी र सार्थक वार्ताका लागि मोर्चाले फागुन ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम रोकेकाले सत्तारूढ दल सहमतिका लागि इमान्दार नभए दोस्रो चरणको क्रियात्मक र निर्णायक आन्दोलनको घोषणा गर्ने बताउनुभयो ।

आन्दोलनका सहयात्री दलबीच न्यूनतम सहमतिका आधारमा संविधानसभाबाटै सङ्घीयतासहितको संविधान बनाउन सत्तारूढ दल इमान्दार भए चाँडै दलबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधानसभाका अध्यक्षले संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गर्नु, प्रधानमन्त्रीले पटकपटक वार्ताका लागि आह्वान गर्नु र काँग्रेस, एमालेले संस्थागत रुपमा वार्ताको निर्णय गर्नुले दलबीच वार्ताको वातावरण बनेको बताउनुभयो ।

देश अत्यन्त गम्भीर मोडमा फसेको र नेकपा (एमाले) र नेपाली काँग्रेसका केही नेताका कारण देश मुठभेडतर्फ अगाडि बढिरहेकाले आफूहरु आन्दोलनमा गएको उल्लेख गर्नुहुँदै जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह र सीमान्तकृत वर्ग र समुदायको आन्दोलनका क्रममा भएको सहमति सम्झौतालाई स्वीकार गरी संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । पहिचानसहितको सङ्घीयता र उत्पीडित समुदायको अधिकार नसमेटिएको संविधानले जनताको समस्या समाधान नहुने बरु द्वन्द्व चर्किने निश्चित रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया