पहाडी भेगका सर्वसाधारण ढिके नुनकै भर

इनेप्लिज २०७१ फागुन २७ गते ५:२४ मा प्रकाशित

salt_nun_dhikeरत्ननगर (चितवन), २७ फागुन । चितवनको पहाडी भेगका सर्वसाधारणमा चेतनाको अभावमा आयोडिनयुक्त नुनको प्रयोग अत्यन्तै न्यून रहेको छ ।

जिल्लामा नुनको सरकारी तवरमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पाेरेसनका अनुसार पनि पहाडी क्षेत्रमा आयोडिनयुक्त नुन वितरणमा चुनौती रहेको जनाएको छ ।

ढिके नुनमा आयोडिनको मात्रा निक्कै कम हुने र खुला राखिएमा पूर्ण नष्ट हुने भए पनि चेतनाको अभावमा स्थानीय ढिके नुनकै प्रयोग गरिरहेका छन् ।

विकटका स्थानीय आफूले उत्पादन गरेका खाद्यान्नसँग समेत ढिके नुन साट्ने गरेका छन् । चितवनको विकट दाहखानीका बिलबहादुर चेपाङ पनि ढिके नुन नै प्रयोग गर्नुहुन्छ ।

बजारमा पनि यही नुन पाउने भएकाले ढिके नुन ल्याएको र आयोडिनका बारेमा आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पाेरेसनका शाखा प्रबन्धक वुद्धिविनोद दाहाल आगामी वर्ष आयोडिनयुक्त नुनको चेतनामूलक कार्यक्रम पहाडी भेगमा आयोजना गर्ने बताउनुहुन्छ ।

आयोडिनको कमीले महिलाको गर्भपतन हुनसक्ने, बालबालिका अल्छी, लुलो, लङ्गडो हुने, शिशुको मष्तिस्क विकासमा असर पर्ने हुन्छ । त्यसका लागि आयोडिनयुक्त नुन आवश्यक हुने जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत शोभाखर अधिकारीले बताउनुभयो ।

हरेक एक व्यक्तिलाई दैनिक एकदेखि ३०० माइक्रो ग्राम आयोडिन आवश्यक पर्छ । बाँचुञ्जेल ४ दशमलव ८ ग्राम आयोडिन आवश्यक पर्ने कर्पाेरेसनले जनाएको छ ।

सरकारले १० लाख ग्राम नुनमा ५० ग्राम आयोडिन मिसाउने गरेको छ । चितवनको शक्तिखोर, सिद्धी, कोराक, लोथर, काउले, चण्डिभञ्ज्याङ, दारेचोक, कविलासलगायत गाविस पहाडी क्षेत्रमा पर्दछन् । यहाँ चेपाङ, गुरुङ, तामाङ र मगरको बसोवास बढी छ ।

प्रतिक्रिया