विदेशिएकानेपालीको चाहनाःशान्ति, सुशासनर समृद्धि

इनेप्लिज २०७१ फागुन २६ गते ६:०४ मा प्रकाशित

11058409_10152882503788999_1819634011752518985_n

विदेशिएकानेपालीको चाहनाःशान्ति, सुशासनर समृद्धि
‘मातृभूमि प्राणभन्दा प्यारो हुन्छ ।’ यसमा द्विविधा र सशंकित हुनुपर्ने कारण छैन । विविध कारणले विदेशिएका जोसुकै नेपालीलाई सोधे पनि चर्चा, चिन्ता र चासो मातृभूमिकै हुन्छ । तर, विदेशिएका नेपालीप्रतिगरिने तीखो टिप्पणी र नकारात्मक सोचका कारण मैले केही कुराहरू यस लेखमार्फत् उजागर गर्ने प्रयास गरेको छु ।
मुख्यतः जीवनको लक्ष्य, चाहना र सपना आफू, आफ्नो परिवार, समाज र सिंगो मुलुककै स्थायीत्वसँगजोडिएको हुन्छ । भाग्य र नियतिमा विश्वास गर्ने हामी र हाम्रो समाजको संरचना नै अलिकति पुरातनवादी, अलिकति अतिवादी, अलिकति अतिसोच र अलिकति नकारात्मक विचारबाट प्रभावित छ । जसका कारण हामी र हाम्रो समाज विकसित राष्ट्र र समाजभन्दा धेरै पछाडि छ । नेपालीहरू विविध कारणले विदेशिएका छौं । यसभित्र थुप्रै कारण छन् । आर्थिक समृद्धि, रोजीरोटी, अवसर, बिरक्तिनु वा भविष्यको चिन्तालगायतकाजेजस्ता कारण भए पनि अन्ततोगत्वा आफू र आफ्नो परिवारको समृद्धि र आर्थिक स्वतन्त्रताका लागि नै बिदेशिनेको संख्या उल्लेख्य छ । विभिन्न तथ्यांकहरूले कानुनी रूपमा वर्षेनी झन्डै ६ लाखको हाराहारीमा नेपालीहरू विदेशिएका भए पनि गैरकानुनीलगायत सबै रूपमा हेर्दा वर्षेनी झन्डै ८–९ लाख नेपाली विदेशिने गरेका छन् । यो तथ्यांक हेर्दा लाग्छ, नेपालमा अब युवा र राज्यको महत्वपूर्ण मानव श्रोत साधन बाहिरिँदैछ । नेपाल यस्तो मुलुक हो, जसलाई कृषिप्रधान देश भनिन्थ्यो । र, मानिस कृषिमा आत्मनिर्भर थिए पनि । तर, कृषि पेशा छाडेर अहिले मानिसहरू हिमालबाट पहाड, पहाडबाड वेशी, वेशीबाट सहर र सहरबाट क्रमशः विदेशिँदै छन् । यो क्रम रोकिएन र रोक्न सकिएन भने नेपाल मुलुक एक दिन नरित्तिएला भन्न स जुन कुरा भर्खरै सम्पन्न संविधानसभाको दोश्रो निर्वाचनमा मतदाताको तथ्यांकगत स्वरूपबाट नै प्रष्ट भएको छ ।
ग्रामीण भेगमा उत्पादन हुने चिउरीका घ्यू, पहाडमा उत्पादित मह, बाँसको चोया, डोको, नाम्लो, दाम्लो र नाङ्लो क्रमशः लोप हुँदैछन् । यस्ता उत्पादकहरू विदेशिने क्रम जारी छ । गाउँमा हिजो धान, चामल, गहुँ, दाल, चामल, भटमास, मकै, जौ, तेल, कोदो, फापर, दही, मही, घ्यू, महजस्ता उत्पादनका ठाउँमा हिजोआज वाइन, ह्विस्की, बियर, चाउचाउ भित्रिएका छन् । दाउराबाट पाक्ने खाना ग्याँसले पाक्न थालेको छ । ग्रामीण भेगमा बालबालिका, महिला र बूढाबूढीबाहेकअरू भेटिन छाडेका छन् । जन्ती र मलामी पाउन गाह्रो हुन थालेको छ । समग्रमा हामीले हाम्रो समाजलाई हाम्रो संस्कृति, परम्परा, आत्मनिर्भरता र हाम्रो बाँच्ने आधारशीलामाथि प्रहार र अन्त्य गर्दैछौं ।
देशमा सुशासन हराउँदै गएको छ । बलिया र बांगाहरूले राज र शासन गर्ने स्थिति छ । निर्धाहरूलेबाँच्ने अधिकार गुमाउँदै गएका छन् । महंगी बढ्दो छ । रोजीरोटीका अवसरहरू गुम्दैछन् । रोजगारको सम्भावना छैन । उत्पादन छँदैछैन । समाजमा अपराध बढ्दै गएको छ । सभ्य समाज र नैतिक आचरणको सभ्यता हराउँदै गएको अवस्था छ । गरीवीका कारण चाहेजस्तो खान र लगाउन नसक्ने, आफ्नो चाहना र स्वतन्त्रतालाई चाहेजस्तो उपभोग गर्न नपाउने श्रृङ्खला बढ्दै गइरहेको छ । समाज विभक्त छ । बुद्धिजीवी, मानवअधिकारवादी, पढेलेखेका, बुझेका र टाठाबाठाहरू विभक्त छन् । हेर्दा लाग्छ, अनुकूलमा जिन्दावाद र प्रतिकूलमा मूर्दावाद ।
विद्यमान अवस्थामा मध्यम परिवार र आम्दानीको श्रोत नभएका वर्गले बाँच्ने विकल्प खोजिरहेको अवस्था छ । तर, विकल्प शून्य बनिरहेको छ । समाजमा अर्को वर्ग छ, राजनीतिक पार्टी, यसका कार्यकर्ता र तिनका वरिपरि रहने दलबलहरू । उनीहरू अधिकांशको जागिर छैन । राज्यबाट प्रत्यक्ष कुनै सुविधा प्राप्त हुँदैन । र, वैधानिक आम्दानीको कुनै श्रोत पनि छैन । तैपनि, बाँचिरहेकै छन्, खर्च गरिरहेकै छन्, महंगा गाडी चढिरहेकै छन् । र, आलिशान महल पनि ठड्याइरहेकैछन् । तर, कहाँबाट आउँछ ? अदृश्य छन् आम्दानीका श्रोतहरू । चोरी, लुटपाट, भ्रष्टाचार, गुण्डागर्दी, ठगी र बदमासीबाहेक ती वर्गको श्रोत छैन पनि । कर्मचारी सरुवा, योजनाहरूको रकम भ्रष्टाचार, गुण्डागर्दीलगायतका लाभका कामबाहेक ती श्रोतहरूको आधार पनि भेटिँदैन । मानिसहरू बैंकबाटै लुटिएका छन् । घर नै फोडिन्छन् । उस्तै परे अपहरण र हत्यासमेत हुने गरेका छन् । एकातिर धन सम्पति नहुनु र बाँच्न गाह्रो हुनुको पीडा छँदैछ, अर्कोतिर धन सम्पति भएर पनि लुटिने र मारिने जोखिम पनि उत्तिकै छ ।
अब मुलुक विदेशिएका लाखौंलाख नेपालीहरूबाटभित्रिएको रेमिट्यान्सले चल्न नसक्ने अवस्थामा छ । उत्पादनमा ह्रास आउनु, श्रमशक्ति लोप हुँदै जानु र निर्यातभन्दा आयात बढ्दै जाँदा राज्यको संचिती र महत्वपूर्ण आर्थिक श्रोत बाहिरिइरहेको अवस्था छ । यसरी विदेशिनुमा राज्य र यसको नीति खुसी मान्छ र रेमिटेन्सकोआधारमा विकास र खर्च विनियोजित हुनु आफैंमा दुर्भाग्यपूर्ण छ । राज्यको नीति निर्माता तथा राजनीतिक दलहरू सत्तालिप्सा, विरोधाभाष र द्वन्द्वमा फसेको छ । नेपाल शान्ति, चयन, सुशासन र समृद्धि हराएको मुलुकको रूपमा स्थापित हुन पुगेको छ । विकृतिहरू घट्नुको सट्टा बढ्दै गइरहेको अवस्था छ ।
यी सबै विद्यमान अवस्थाहरू, यसबाट मुलुकमा परिरहेको प्रतिकूल असर, समृद्धिको चिन्ता र सुशासनको कल्पनाबाहेकविदेशिएका नेपालीहरूमा अरू केही पाउन सकिन्न । विदेशमा बसेर नेपालको चिन्ता गर्दा विदेशिएका नेपालीहरूप्रति स्वदेशमा बस्नेहरूबाट बेलाबखत ब्यङ्ग्य वाण प्रहार हुने गरेको छ । सामाजिक सञ्जाल र समाचार, लेख र टिप्पणीहरूमा त झन् दैनिक प्रशस्तै तर्क र टिका–टिप्पणी हुने गरेको पाइन्छ । आखिर विदेशिएका नेपालीहरूप्रति किन यस्तो ब्यङ्ग्य र टिप्पणी ? विहान उठ्नेबित्तिकै नेपालका समाचार हेर्ने र नेपाल र नेपालीको समृद्धिको कामना गर्ने, कामबाट थाकेर फर्किंदासमेतनेपालको समाचार नहेरी नखाने र नसुत्ने, नेपाली–नेपालीबीच भेटघाट, कुराकानी, आदान–प्रदान गर्ने गरेका छन् । नेपालबाट आएका विभिन्न तहका नेपालीहरू भेट्दा चिन्ता र आवश्यक सुझाव तथा भेला र समारोह हुँदा नेपालकै चिन्ता र चासो विदेशिएका नेपालीको नित्य कर्म नै बनेको छ । मातृभूमिप्रतिको यो चिन्ता र राष्ट्रप्रतिकोयो भक्तिप्रति कसैले पनि औंला नउठाउनु पर्ने हो ।
यतिमात्रै होइन, विदेशिएका नेपालीले आफ्नो छाक कटाएर र अन्य सुविधामा कटौती गरी नेपालमा रहेका आफ्ना परिवार र समाजलाई आर्थिक सहयोग, बाढी–पीडित वा अन्य अवसरबाट वञ्चित भएका मानिस तथा समाजलाई राहत, स्वास्थ्य तथा शिक्षाबाट वञ्चित ब्यक्ति वा समुदायलाई आर्थिक तथा भौतिक सहयोगका साथै सुशासन र स्थायीत्वको कामनासहित राजनीतिक दल वा समुदायलाई जानकारीमूलक सुझावलगायत सामाजिक तथा आर्थिक क्षेत्रमा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्दै आइरहेका छन् ।
संसारभर भएका सुशासनका सकारात्मक र प्रगतिका पक्षहरू, प्रविधि, ज्ञान, सीप र शिक्षाजस्ता समाजको असल पक्षहरूलाई विदेशिएका नेपालीहरूलेजहिले पनि विभिन्न तवरबाट स्थान्तरण वा प्रवाहित गर्दै आइरहेका छन् । विदेशिएका नेपालीहरूले लगानीमात्रै नभएर भएका आर्थिक श्रोतलाई सामाजिक उत्तरदायीत्वको रूपमा निर्वाह गर्दै आइरहेका छन् । यसबाट पनि के प्रष्ट हुन्छ भने विदेशिएका नेपालीले आफ्नो राष्ट्रप्रतिकोउत्तरदायीत्व बिर्सिएका छैनन् । विदेशमा रहेका नेपाली तथा विदेशी संघसंस्थामा प्रतिनिधित्व गर्ने नेपालीहरूले आफ्नो राष्ट्रको प्रगति र समृद्धिका लागि निरन्तर चिन्ता र चासो ब्यक्त गरिरहेकै छन् । त्यतिमात्रै नभएर राजनीतिक दलका भातृ सगठनहरू पनि मुलुकको समृद्धि र सुशासनका लागि दत्तचित्त भएर क्रियाशील नै छन् । यसको मतलव नेपाली जहाँ, जसरी रहे पनि नेपाली नै छन् । समग्रमा मुलुकबाहिर रहेका नेपालीहरूलेसधैं नेपाल र नेपालीको उन्नति र प्रगतिको कामना गरिरहेका हुन्छन् ।
मुलुकमा सुशासन कायम होस्, मानवअधिकार रक्षा होस्, आर्थिक रूपमा समृद्धशाली बनोस्, रोजगारको अवसर सिर्जना होस्, निजी क्षेत्र फस्टाउन सकुन्, निजी क्षेत्रको विकासका लागि राज्यले नीति तर्जुमालगायतकाविषयमा उच्च प्राथमिकता दियोस्, अपराध र विकृतिमा कमी होस् र शिक्षा, स्वास्थ्य तथा विकासका क्षेत्रमा राज्यले फड्को मार्न सकोस् भन्ने नै विदेशिएका नेपालीहरूको कामना हो । त्यसैगरी आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीयलगायतका दीगो विकासका पक्षहरूको यथोचित विकास र संरक्षण हुन सकोस् । प्रतिब्यक्ति आम्दानीको श्रोत र क्षमतामा बृद्धि होस् र मुलुकमा सुशासन र कानुनी राज्य स्थापित होस् भन्ने नै विदेशिएका नेपालीहरूको कामना रहेको छ ।
त्यसैगरी विदेशिएका नेपालीहरूले मुलुकको सुशासन, नीति–निर्माणको यथोचित सन्तुलन, अपराध तथा विकृति निरुत्साहन, राजनीतिक स्थायीत्व, उत्पादन, खपत र निर्यात बृद्धि, आयातमा कमी तथा राज्यको भौगोलिक स्थितिको विकास र सन्तुलन, उत्पादनमुखी शिक्षा र रोजगारको प्रत्याभूति देख्न चाहेका छन् । राजनीतिक दलहरूमा संयमता, बुद्धिमता, राज्यप्रति उत्तरदायी र मेलमिलापबाट मुलुकले दीगो विकासमा अग्रणी फड्को मार्न सकोस् भन्ने आमनेपालीको चाहना छ । यदि आफ्नै मुलुक यसरी सम्पन्न हुन सके विदेशिएकाहरू, क्षमता, सीप, साधन र श्रोतसहित आफ्नै मुलुक फर्कन सक्ने अवस्था सिर्जना हुन सक्छ ।
विदेशिएका नेपालीलाई गाली गलौज गर्ने, उनीहरूको योगदान, भूमिका र निर्वाह गरिरहेको उत्तरदायीत्वमाथि प्रश्नचिन्ह उठाउने, उनीहरूबाट ब्यक्त चिन्ता र चासोलाई बेवास्ता गरी नकारात्मक टीका–टिप्पणी गर्ने र आर्थिक रूपमा मात्रै उनीहरूबाट अपेक्षा गर्नु सान्दर्भिक र न्यायिक हुन सक्तैन । विदेशिएका नेपालीबाट आर्थिक स्वतन्त्रता र रूपान्तरणकालागि उनीहरूका सीप, जाँगर र क्षमतालाई सदुपयोग र हौसला प्रदान गर्न सके विदेशिएका नेपालीबाट ज्ञान, सीप र क्षमतामात्रैनभई उनीहरूलाई आर्थिक उन्नति, सुशासन र राष्ट्रको नीति निर्माणमा सँगसँगै लैजान सके नेपाल समृद्धशाली बन्न धेरै समय लाग्ने छैन ।
अन्ततः आशंकाका बीच नेपालमा दोश्रो संविधानसभाको चुनाव ऐतिहासिक र शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ । संविधानसभाका सामु नयाँ संविधान जारी गर्ने महत्वपूर्ण अभिभारा छ । संविधान निर्माणमा राज्य पुनःर्संरचनाकोप्रश्न सर्वाधिक जटिल बनेको छ । संविधान निर्माणको सवालमा विगत संविधानसभामा ज्यादै विवादित विषय भनेको राज्यको पुनःसंरचनाको विषय नै थियो । फेरि पनि सत्ता प्राप्तिको गणितीय खेलमै मुलुकको राजनीति तल्लीन हुनुहुन्न । अब पनि दलहरू संविधान लेखनभन्दा फेरि सत्ता परिवर्तनको खेलतर्फ नै बढी केन्द्रित भए र जनताले नयाँ म्यान्डेटसहित दिएको स्थानलाई दलहरूले फेरि पनि सत्ता बार्गेनिङकै लागि प्रयोग गरेभने परिणाम उनीहरूले सोचेजस्तो नहुन पनि सक्छ । तर, सत्तालाई नै मुख्य ठानेनन् भने मिल्नुपर्ने र मिल्न बाँकी कुरा सायद त्यत्ति जटिल छैनन् । यदि त्यसो हुन सक्यो र मुलुकमा नयाँ संविधान जारी भई दीगो शान्ति कायम भयो भने विदेशिएका नेपालीहरू पनि आफूले आर्जन गरेको ज्ञान, क्षमता, सीप, साधन र श्रोतसहित क्रमशः आफ्नै मुलुक फर्कन सक्छन् ।

(लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपसभापति र अमेरिकनचेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया