आन्तरिक राजस्व कार्यालय भैरहवामा डेढ अर्ब राजस्व सङ्कलन

इनेप्लिज २०७१ फागुन १६ गते ११:४७ मा प्रकाशित

Lumbini_districtsलुम्बिनी (रुपन्देही), १६ फागुन । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्र्षको सात महिनामा रु एक अर्ब ५३ करोड ८५ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा भएको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा करिब २७ प्रतिशतले र चालु वर्षको लक्ष्यमा ३.३८ प्रतिशतले वृद्धि रहेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत जनकराज शर्माले बताउनुभयो ।

“राजस्व विभागले दिएको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सफल भएका छौँ”, प्रमुख शर्माले रासससँग भन्नुभयो– “अबका बाँकी पाँच महिनामा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनेमा विश्वस्त छौँ ।”

विभागले माघ महिनासम्म रु एक अर्ब ४८ करोड ८२ लाख ४९ हजार राजस्व सङ्कलनको लक्ष्य भैरहवा कार्यालयलाई तोकेको थियो । यो सङ्कलन गत वर्षको यही अवधिको तुलनामा रु ३२ करोड ६९ लाख ६४ हजार बढी हो ।

सात महिनामा कार्यालयले रु ८४ करोड ७८ लाख ५४ हजार, मूल्य अभिवृद्धि करमा ३४ करोड ७६ लाख ५९ हजार, अन्तःशुल्कतर्फ आय कर, बहाल कर र ब्याज करतर्फ रु ३३ करोड ८२ लाख ५१ हजार, शिक्षा सेवा शुल्कमा रु ३३ लाख १२ हजार र स्वास्थ्य सेवा शुल्कबापत रु १४ लाख ३३ हजार सङ्कलन गरेको हो ।

करदाता शिक्षाको प्रभावकारिता, जनचेतनामा वृिद्ध भई कर तिर्नुपर्छ भन्ने भावना जाग्नु, कार्यालयको नियमित बजार अनुगमनजस्ता कारणले लक्ष्यअनुरुप राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत शर्माले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, लुम्बिनी नगरपालिका, तिलोत्तमा नगरपालिका (साविकको शङ्करनगर गाविसबाहेक) र ४४ गाविस तथा नवलपरासीको २९ गाविस र रामग्राम नगरपालिकामा गरी पुस मसान्तसम्ममा १७ हजार ७३७ करदातामध्ये तीन हजार ७९ जना मूल्य अभिवृद्धि करमा दर्ता छन् ।

प्रतिक्रिया