बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:४९
वासिङटन डिसी 06:04

नेपालमा भुसुना हिमाल चढ्दै !

इनेप्लिज २०७१ फागुन १६ गते ७:४४ मा प्रकाशित

Bhusuna-Kalajar

विष्णु नेपाल

काठमाडौँ, १६ फागुन । तराईमा मात्र देखापर्दै आएको कालाजार सार्ने भुसुना पहाड हुँदै हिमाल चढ्न थालेका छन् ।

नेपाल स्वास्थ अनुसन्धान परिषद्का सदस्यसचिव डा खेमबहादुर कार्कीले पहाडी जिल्ला भोजपुर र अर्ध हिमाली जिल्ला ओखलढुङ्गामा कालाजारको परजीवी देखापरेको जानकारी दिनुभयो । “जलवायु परिवर्तनको असर स्वास्थ्य क्षेत्रमा देखाप¥यो, यसको उदाहरणका रुपमा कालाजारको परजीवी सार्ने भुसुना तराईबाट पहाड उक्लदै हिमालमा पुगे”, स्वास्थ्य अनुसन्धानमा लामो समय खर्चिनु भएका डा कार्कीले भन्नुभयो ।

उसो त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कालाजार नियन्त्रणमा ऐतिहासिक सफलता हासिल गरेको छ । करिब १५ वर्षको दौरानमा कालाजारका बिरामी दुई हजारबाट २०० मा झरेको मन्त्रालयको तथ्याङ्क छ । पूर्वी तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारालगायत १२ जिल्लामा कालाजार रोग अझै विद्यमान छ ।

गर्मीयाममा देखापर्ने सरुवा रोगका रुपमा कालाजार रोगलाई लिइन्छ । गर्मीयाममा देखापर्ने तर बेवास्ता गरिने सरुवारोगमध्ये नेपालमा हात्तीपाइले, ट्राकोमा, जुका, चुर्ना, कालाजार, कुष्ठरोग, डेँगु, रेबिज जस्ता आठ रोग विद्यमान रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । ती रोग गरिब, आर्थिक रुपले विपन्न तथा पछाडि पारिएका समुदायमा बढी पाइन्छ । सो रोग अहिले पनि सरकारको प्राथमिकता प्राप्त स्वास्थ्य समस्या बन्न सकेको छैन । यसबाट खासगरी महिला तथा बालबालिका बढी प्रभावित हुने गर्छन् ।

विश्वमा हरेक वर्ष पाँच लाख ३४ हजार मानिसको ती रोगका कारण अकालमा मृत्यु हुने गर्छ तर नेपालमा यकिन तथ्याङ्क छ्रैन । सदस्य सचिव डा कार्की रोगको नियन्त्रण र रोकथाममा थप अनुसन्धान र लगानी बढाउन आवश्यक भएको बताउनुहुन्छ ।

विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेती गर्मीयाममा देखापर्ने तर बेवास्ता गरिएका रोगको रोकथाम तथा नियन्त्रणमा सरकारको लगानी वृद्धि भएको जानकारी दिनुहुन्छ । “यसका लागि उपचारात्मक एवम् सचेतनात्मक दुवै कार्यक्रम प्राथमिकताका साथ सञ्चालन भइराखेका छन्”, उहाँले भन्नुभयो ।

तराईका २० जिल्ला कुष्ठरोग निवारणका लागि चुनौती बनेको छ । सो रोग उपचारपछि पनि पुनः देखिने र यसका कारण हुने अपाङ्गता सधँै चुनौती बन्ने गरेको छ । अहिले कुष्ठरोगकै कारण ३० हजार मानिस अपाङ्ग छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने र मानिसलाई अपाङ्ग बनाउने हात्तीपाइले रोग नेपालका ६१ जिल्लामा रहेको सदस्य सचिव डा कार्कीले जानकारी दिनुभयो । करिब दुई करोड ५० लाख मानिस सो रोगको भयबाट प्रभावित छन् ।

हात्तीपाइले रोग गराउने ‘फाइलेलिया’ को विरुद्धमा हरेक वर्ष निःशुल्क रुपमा औषधि वितरण गरिन्छ तर मानिस औषधि खान हिचकिचावट गर्ने गर्छन् ।

सरसफाइ गर्न नसक्ने र गरिबलाई सताउने ‘ट्राकोमा’ २० जिल्लामा अझै विद्यमान रहेको उहाँले जानकारी दिनुभयो । अन्धोपन गराउने प्रमुख कारणमध्ये ट्रकोमा एक हो । जुका र चुर्नाले बालबालिकालाई सताइरहेको छ । यसका कारण कुपोषण र विद्यालय शिक्षामा न्यून सहभागिता हुने समस्या व्यापक छ ।

लाखौँ मानिसलाई सताइरहेको यस्ता रोगको निवारण गर्न सजिलो होस् भन्ने ध्येयले परिषद्ले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा मार्गचित्रको मस्यौदा तयार गरेको सदस्य सचिव डा कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया