सोमबार, कार्तिक १ २०७८
काठमाडौं ०७:००
वासिङटन डिसी 21:15

विराटगोल्ड कपमा झापा–११ विजयी, त्रिभुवन आर्मी उपविजेता

इनेप्लिज २०७१ फागुन १० गते २:४० मा प्रकाशित

jhapa-11-300x225विराटनगर, ९ फागुन । विराटनगरको सहिद मैदानमा सञ्चालित सर्वाधिक राशि रु पाँच लाख एक हजार पुरस्कार भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा झापा–११ ले नेपाली सेनाका त्रिभुवन आर्मीलाई २–१ ले पराजित गरेर उपाधि हात पारेको छ ।

खेल सुरु भएको ६ मिनेटमै झापा–११ का खमिर गिल्सान कन्दङ्वाले पहिलो गोल गरी झापा–११ लाई अग्रता दिएको थियो र २४ मिनेट नबित्दै सोही टिमका कर्ण लिम्बूले एक गोल गरी झापा– ११ लाई २–० ले अग्रता दिलाए ।

तर, मध्यान्तरपछिको ३९औँ मिनेटमा आर्मीका टङ्क बस्नेतले एक गोल गरी झापालाई प्रतिस्पर्धामा राख्ने प्रयास गरेका थिए । झापा– ११ ले खेल अवधिभर आर्मीलाई दबाबमा राखेको थियो ।

झापा– ११ ले उपाधिसँगै हालै इलाममा भएको माईभ्याली फुटबल प्रतियोगिता र मोरङको पथरीमा भएको ‘पथरी गोल्ड कप’को हारको बदला लिएको छ । ती दुवै प्रतियोगिताको फाइनलमा झापा–११ त्रिभुवन आर्मी टिमबाट पराजित भएका थिए ।

उक्त प्रतियोगिताको उपविजेता त्रिभुवन आर्मी क्लबले रु तीन लाख एक हजार नगदसहित उपविजेताको सिल्ड हात पारेको छ ।

खेलको ‘म्यान अफ द म्याच’ झापाका खमिर गिलसन कन्दङ्वा घोषित भए भने ‘म्यान अफ द सिरीज’ झापाका कर्ण लिम्बू भए । लिम्बूले टिभियस कम्पनीको मोटरसाइकल समेत हात पारेका छन् ।

उत्कृष्ट प्रशिक्षक, गोलकिपर र उत्कृष्ट टिम प्रबन्धक झापाकै क्रमशः भगीरथ आले, दिनेश थापा र टेकराज सुब्बा घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडिल फिल्डर आर्मीका जीतेन्द्र कार्की र टङ्क बस्नेत घोषित भएका थिए । प्रतियोगिताभरि सबैभन्दा बढी तीन गोल गर्ने आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता टिम र खेलाडीलाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कप, सिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

गत माघ २९ गतेदेखि सञ्चालन भएको सो ‘ए’ डिभिजनको फुटबल टिमबीचको प्रतियोगितामा नेपालका आठ टिम र भारतका दुई टिम गरी १० टिमले भाग लिएका थिए ।

प्रतिक्रिया