प्रधानमन्त्री कोइरालाद्वारा शुभकामना

इनेप्लिज २०७१ फागुन ७ गते ५:५७ मा प्रकाशित

vbk-26-Sushil_Koir_1733026fकाठमाडौँ, ७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले आज एक सन्देशमार्फत ६५औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले जहाँनिया, तानाशाही र एकतन्त्री शासनबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवस–२०७१ को अवसरमा सबै नेपालीलाई हार्दिक बधाई दिदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्वान्जली अर्पण गर्नुभएको छ ।

साथै घाइते भएका ज्यूदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवार र लोकतन्त्रको प्राप्तीको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको प्रधानमन्त्रीद्धारा जारी सन्देशमा जनाईएको छ ।

“लोकतन्त्रको स्थापना र जनताको हक अधिकारका लागि हामीले अहिलेसम्म गरेका संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई परिणाममा पुर्‍याउन म संविधानसभामा रहनुभएका र संविधानसभा भन्दा बाहिरका राजनीतिक दलसँग अपिल गर्दछु” प्रधानमन्त्री कोइरालाद्वारा जारी सन्देशमा भनिएको छ ।

उहाँले संविधान निर्माण सहित मुलुकका सामु रहेका सबै समस्याहरुको निराकरण आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै गर्न सकिने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सहिदका सपना र जनताका आकांक्षा पुरा गर्न प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री कोइरालाले आजै शेर्पा समुदायको महान चाड एवं नयाँ बर्ष “ल्होसार सिङ् मो लुक्लो २१४२”को अवसरमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलाई सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति ,समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा प्राकृतिक सुन्दरताले भरिपूर्ण बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक नेपालमा बस्ने सबैबीच शदिऔं देखि रहदै आएको पारस्पारिक सद्भाव र सहयोगको भावना नै राष्ट्रिय एकताको बलियो आधार भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया