मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०६:४३
वासिङटन डिसी 20:58

विपक्षीसँग सहमति नभए प्रक्रियाबाटै संविधान जारी हुन्छ: उपप्रम सिंह

इनेप्लिज २०७१ फागुन ५ गते १४:४१ मा प्रकाशित

Prakashman-signभक्तपुर, ५ फागुन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले विपक्षी दलसँग सहमति नभए प्रक्रियाबाटै संविधान जारी हुने बताउनुभएको छ ।

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी सङ्घले यहाँ आयोजना गरेको पाँचदिने दोस्रो इलेक्ट्रोनिक्स एक्स्पो–२०१५ को आज उद्घाटन गर्दै उहाँले पहिलो संविधानसभामा ठूलो दल भएको एमाओवादीले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभामा ठूलो दल रहेको काँग्रेसलगायत दुई तिहाइ जनमतप्राप्त दलले संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सडकबाट संविधान जारी हुनेवाला छैन भन्दै उहाँले भन्नुभयो, “‘सडकमा जानेले बुझे हुन्छ, सडकबाट संविधान जारी हुनेवाला छैन, संविधानसभाबाटै संविधान जारी हुन्छ ।”

कार्यक्रममा नेमकिपाका सभासद् प्रेम सुवालले अहिलेको संविधानसभाले पनि सहज रुपमा संविधान बनाउन नसक्ने विचार व्यक्त गर्नुभयो ।

एक्स्पोमा विभिन्न कम्पनीका मोबाइल, टेलिभिजन, लाइट, रेफ्रिजेरेटर, लुगा धुने यन्त्र, एसी, कुकिङ रेन्ज, कम्प्युटर, ल्यापटप, माइक्रोओभनलगायत ३०० भन्दा बढी विद्युतीय सामग्रीका किसिम बिक्रीका लागि राखिएको कार्यक्रमका संयोजक न्हुच्छे मानन्धरले बताउनुभयो । एक्स्पोमा भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामग्री, तयारी कपडालगायत कक्ष पनि छन् ।

शनिबारसम्म चल्ने एक्स्पो अवधिभर उपभोक्ताका लागि विभिन्न सामानको खरिदमा १० प्रतिशतदेखि ५५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ एक्स्पोेमा १०० कक्ष छन् जसमा ७० भन्दा बढी विद्युतीय सामग्रीको छ ।

प्रतिक्रिया