उनन्तीस विद्यालयलाई एक करोड बीस लाख वितरण

इनेप्लिज २०७१ फागुन ५ गते २:५२ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ५ फागुन । जिल्ला शिक्षा कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७१/०७२ का लागि २९ वटा विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु एक करोड २० लाख ५० हजार वितरण गरेको छ ।

जिल्ला शिक्षा अधिकारी घनश्याम अर्यालको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाको बैठकले भौतिक पूर्वाधार विकासका लागि बजेट वितरण गरेको हो । पौलत्स्य उच्चमावि पुलाचौर र राष्ट्रिय जनजागृति मावि कुहूँ पूर्णगाउँलाई कक्षा कोठा भवन योजनाका लागि रु २४÷२४ लाख वितरण गरिएको छ ।

यसैगरी दुईकोठे भवन बनाउन बालमन्दिर प्रावि बेनी, जनकल्याण मावि पुलाचौर, खड्गभवानी प्रावि ज्यामरुककोट र धौलागिरि प्रावि रिसिङ चौतारीलाई रु सात लाख ५० हजारका दरले उपलब्ध गराइने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यस वर्ष कक्षाकोठा पुनः स्थापना तथा फर्निचर व्यवस्थापनका लागि १५ वटा विद्यालयलाई रु एक–एक लाख वितरण भएको छ । विद्यालय भवन मर्मत कार्यक्रमतर्फ भीम मावि देवीस्थान, रितुङ मावि कुइने र रघुगङ्गा मावि पिप्लेलाई रु पाँच लाख छुट्याएको छ ।

यसैगरी विद्यालयको बाहिरी वातावरण सुधारका लागि ज्योति निमावि डडुवा, चन्द्रज्योति मावि मुदी, विकास प्रावि लरेनी, मालिका निमावि ठाडाखानी र जनप्रिय निमावि बरङ्जा खर्कलाई रु दुई लाख ५० हजारका दरले बजेट वितरण गरिएको छ ।

प्रतिक्रिया