नेपाल भारत सहयोग मञ्च स्थापित

इनेप्लिज २०७१ फागुन ४ गते १५:५४ मा प्रकाशित

Rss_Images_1424095266052_KRG-Ktm-Leder Chanda-Renuka deviकाठमाडौँ, ४ फागुन । नेपाल तथा भारतका बीच विभिन्न सांस्कृतिक, धार्मिक तथा कूटनीतिकलगायत सहयोग आदानप्रदान गर्ने उद्देश्यले नेपाल भारत सहयोग मञ्च स्थापना भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा भारतीय जनता पार्टीका (भाजपा)का उपाध्यक्ष रेणुदेवी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले संयुक्त रुपमा मञ्चको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष रेणुदेवीले दुई देशबीचको भाषा तथा संस्कृति र रीतिरिवाजलगायतले मैत्री सम्बन्ध ऐतिहासिक कालदेखि नै बलियो रहेको बताउँदै विश्वकै लागि नेपाल हिन्दू राष्ट्रको प्रतीक हो भन्नुभयो । वैदिक सनातन हिन्दू धर्मको उद्गमस्थल नेपाल भएका कारणले हिन्दूका लागि महत्वपूर्ण तीर्थस्थल तथा गौरवमय परम्परा रहेको र यसलाई समुन्नत बनाउन पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री चन्दले अधिकांश हिन्दू भएको देशमा उनीहरुको भावना विपरीत जान नहुने र सो विषयमा जनमतसङ्ग्रहबाट निर्णय लिनुपर्नेमा जोड दिनुभयो ।

राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनी तथा राजनीतिकर्मी दिलविकास राजभण्डारीले दुई देशबीच रहेको विभिन्न समस्या तथा चुनौतीलाई समाधान गरी आत्मीयता र सम्मानको भावना विकास गरेर अघि बढ्न सकेमा दुवै देश सम्पन्नताको नयाँ युगमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भाजपाका नेता विजय जोली, शिवशङ्कर ओरानलगायतले दुई मुलुकको सांस्कृतिक सम्बन्ध नागरिकस्तरमा फैलाउनुपर्ने औँल्याउनुभयो । मञ्चका अध्यक्ष लीलानाथ ढकालले दुई देशको शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणमा सहयोग आदाप्रदान गर्न सो संस्थाले गतिविधि गर्दै जाने जानकारी दिनुभयो ।

कार्यक्रममा गायिका सीता कँडेलले नेपाली गीत गाएर दर्शकको मात्र मन जित्नु भएन भाजपाका अध्यक्ष रेणुदेवी मञ्चमा आएर छमछम नाच्नुभयो ।

प्रतिक्रिया