क्यानडा नेपाली दूतावास संग पर्यटन सम्बन्धि अन्तरकृया कार्यक्रम

इनेप्लिज २०७१ फागुन ४ गते २:२० मा प्रकाशित

Tourism Interaction Programme

नेपाली राजदूतावास ओटावाले आज मिति २०७१।१०।२३ का दिन संस्कृतिक पयर्टन तथा नागरिक उड्डयन सचिव श्री सुरेशमान श्रेष्ठ र क्यानडाका पर्यटन व्यवसायी, पर्यटन पत्रकार, यात्रा लेखक एवं पर्यटन प्रदर्शनी आयोजकहरुवीच अन्तरकृया कार्यक्रमको आयोजना गर्यो । प्रमुख अतिथिकारुपमा कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिक पयर्टन तथा नागरिक उड्डयन सचिव श्री श्रेष्ठले पर्यटन व्यवसायी, पर्यटन पत्रकार एवं पर्यटन व्यवसाय सम्बन्धित व्यक्तित्वहरुलाई सम्बोधन गर्न पाएकामा खुसी व्यक्त गर्दै नेपाल पर्यटकीय दष्टिले प्रचुर सम्भावना भएको मुलुक भएकाले यसको प्रवद्र्धनमा सहयोग गर्न अनुरोध गर्नुभयो । हालसम्म क्यानडेली पत्रकार एवं व्यवसायीहरुले नेपालको पर्यटन विकासमा पुर्याएको योगदानका सरहाना गर्नुभयो । जीव र वनस्पतिहरुको अथाह भण्डार रहेको नेपालको पर्यटन विकासको हालसम्मको गति सुस्त रहेको हुदा पर्यटन क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना भएकाले नेपालको पर्यटन विकासमा क्यानेडेली लगानी आकर्षण गर्ने तर्फ पनि भूमिका खेली सहयोग गर्न अनुरोध गर्नुभयो ।

पर्यटन मन्त्रालय र व्यक्तिगत रुपमा आफू क्यानडाका सो क्षेत्रका व्यक्ति र संस्थाहरुसंग मिलेर कार्य गर्न इच्छुक रहेको विचार व्यक्त गर्नुभयो । सचिव श्री श्रेष्ठसंग कार्यक्रमका सहभागिहरुले व्यक्तिगत एवं समूहमा पनि भेटघाट गरी विभिन्न जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत गदै क्यानडाका लागि नेपालका महामहिम राजदूत काली प्रसाद पोखरेलले नेपाल क्यानडा सम्बन्ध स्थापना भएको ५० वर्षको अवधिमा दुई देश वीचको सम्बन्ध प्रगाढ र फराकिलो बन्दै गएको प्रसंग उल्लेख गर्दै आउदा दिनहरुमा यो अझ व्यापक बन्दै जाने विश्वास व्यक्त गर्नृूभयो ।

नेपाल क्यानडा सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको वर्ष नै क्यानडाका लागि नेपालको राजदूतका रुपमा आउन पाउदा खुसीलागेको विचार व्यक्त गर्दै महामहिम राजदूतले आफ्नो कार्यकालमा नेपाल र क्यानडावीचको व्यपार, लगानी तथा पर्यटन प्रवद्र्धन, द्धिपक्षीय भ्रमणहरुको आदानप्रदान, जनस्तरको सम्पर्क विस्तार गर्ने लगायतका क्षेत्रमा आफू कृयाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्यानडाको वजारमा नेपाली गार्मेन्ट एवं कार्पेट लगायतका उत्पादनहरुको प्रवद्र्धन र विस्तार गर्न व्यपार सहजीकरण सम्बन्धी क्यानडाको निकाय  Trade Facilitation Office Canada (TFO) संग मिलेर कार्य गरिरहेको जानकारी दिदै मम राजदूतले यसै सन्दर्भमा TFO क्यानडाले पहिलोपटक क्यानडामा नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने सम्बन्धी Exporting to Canada नामक एक कार्यशाला समेत आज मिति २०७१।१०।२३ कै दिन  काठमाण्डौंमा आयोजना गरेको जानकारी गराउदै पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि यस प्रकारका कार्यक्रमहरुको आयोजना गरिने जानकारी दिनुभयो । उहांले क्यानडाका टोरन्टो, भ्यान्कुभर, मोन्ट्रियल, ओटावा लगायतका शहरहरुमा चाडैनै नेपालको व्यपार, पर्यटन र लगानी प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरु आयोजना गरिने जानकारी पनि गराउनुभयो । नेपालको साहसिक पर्यटनको विकासमा क्यानडाका पर्यटन व्यवसायी, पत्रकार एवं पर्यटनहरुले योगदानको प्रसंशा गर्दै महामहिम राजदूतले प्रख्यात आरोही  श्री Bernard Voyer लाई नेपालको अवैतनिक वाणिज्यदूतमा गरिएको नियुक्तीले यो क्षेत्रमा अझ टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै अवैतनिक वाणिज्यदूत Mr. Bernard Voyer ने नेपालको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी पाएकामा खुसी व्यक्त गर्दै यो जिम्मेवारीलाई नेपाल र नेपालीको हित एवं क्यानडा नेपाल सम्बन्ध मजबुत बनाउने दिशामा लगाउने प्रतिवद्धता जनाउनुभयो । उहांले नेपालका हिमालहरुसंग आफ्नो गहिरो सम्बन्ध रहेकाले क्यानडालाई नेपालका हिमालहरुसंग जोड्ने भावना व्यक्त गर्नुभयो ।

कार्यक्रममा भागलिन आउनुभएका Sir Edmond Hillary Foundation का संस्थापक अध्यक्ष एवं स्वर्गीय Sir Edmond Hillary का अनन्य मित्र ९० वर्षीय Mr. Zeke O’Connor ले Sir Edmond Hillary संगको आफ्नो उठवस एवं नेपालसंगको आफ्नो नाता गहिरो रहेको उल्लेख गर्दै नेपालको हिमाली र खासगरी सोलुखुम्वु जिल्लाको विकासमा Foundation ले विगत ४० वर्षमा गरेका कार्यहरुका विषयमा चर्चा गर्नुभएको थियो । उहांले नेपालको पर्वतीय पर्यटनको विकासमा आफू जीवनपर्यन्त लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्यानडाको राष्ट्रिय दैनिक पत्रिका The Globe and Mail का प्रसिद्ध लेखक Mr. Craig Offman ले नेपालका पर्यटकीय स्थलहरुको प्रसंसा गर्दै आफूले भविश्यमा नेपालको साहसिक एवं अन्य पर्यटनका विषयमा लेख लेख्ने विचार राख्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष श्री अनिल थापा, The Sir Edmond Hillary Foundation, The Globe and Mail,  The Annual Travel and Vacation show Ottawa,Karavaniers , The Terra Ultima , Geo Plein Air , Espaces, Explorateur Voyages, Travels Pack, Canadian Travel Press Magazine, Canadian Courier Magazine, Ottawa Tourism, लगायतका पत्रिका, ट्राभल्स एजेन्ट, ओटावा टुरिज्म लगायतका प्रमुख सम्पादक, सम्पादक, निर्देशकहरु एवं प्रतिनिधिहरुको ठूलो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया