शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १८:४६
वासिङटन डिसी 09:01

सामाजिक सेवामा नेपाली सेना

इनेप्लिज २०७१ फागुन ३ गते ११:१८ मा प्रकाशित

Armyफलेवास (पर्वत), ३ फागुन । सधैंभरि शान्ति सुरक्षामा खटिने नेपाली सेना पछिल्लो समयमा सामाजिक सेवामा सक्रिय बन्न थालेको छ ।

शान्ति सुरक्षा कायम राख्ने काम सँगसँगै आर्थिक अभाव भएका सामाजिक सङ्घसंस्थामा श्रमदान गर्नुका साथै भौतिक पूर्र्वाधार निर्माणजस्ता काममा सक्रियता बढाउन थालेको छ ।

पर्वतको सुदरमुकाम कुस्मामा रहेको नेपाली सेना रणदल गुल्मले पर्वत जिल्लाको बाजुङ गाविसस्थित वडा नं ९ लाम्पाटामा रहेको कृष्ण प्राविमा शौचालय निर्माण कार्य सुरु गरेको छ ।

दलित तथा पिछडिएका बालबालिकाले अध्ययन गर्ने विद्यार्थीलाई सुविधा सम्पन्न शौचालयमा दिसापिसाब गर्न र उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सेनाले श्रमदानमा उक्त शौचालय बनाउन थालेको हो ।

छात्रा र छात्रका लागि छुट्टाछुट्टै दुईकोठे पक्की शौचालयको निर्माण कार्य मङ्सिर २१ गतेदेखि सुरु भएको विद्यालयका प्रमुख अध्यापक कृष्णप्रकाश हमालले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाली सेनाले पर्वत सदरमुकाम कुस्मा बजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गुप्तेश्वर गुफामा पनि श्रमदान गर्दै आएको छ ।

गुफामा पुनःनिर्माण हुन थालेका भवनमा गुल्मपति सेनानी केसीकै नेतृत्वमा टोली खटिएर श्रमदान गर्दै आएको जनाइएको छ । ६५ जनाको टोलीले बालुवा तथा सिमेन्ट गुफासम्म लाने र भवन निर्माणका अन्य कार्यमा पनि श्रमदान गर्दै आएको बताइएको छ ।

गुफाको पुनःनिर्माण गर्न थालिएका बेलामा सेनाले ठूलो योगदान पुर्‍याएको गुप्तेश्वर गुफा संरक्षण समितिका अध्यक्ष बालगोपाल श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया