ऊर्जा मन्त्री ज्ञवाली बैठकमा उपस्थित नभएपछि….
काठमाडौँ, १ फागुन । ऊर्जा मन्त्री राधा ज्ञवालीको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि तय गरिएको व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको बैठक प्रभावित भएको छ ।
समितिको आजको बैठकमा ऊर्जा मन्त्रालय र त्यसअन्तर्गतका निकायको अर्धवार्षिक प्रगति विवरणमाथिको छलफल गर्ने कार्यसूची रहेको थियो । ऊर्जा मन्त्रालय र मातहतका निकायको कार्यप्रगति सन्तोषजनक नभएको चालु आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेको भन्ने गुनासो आएको थियो । गुनासो आएपछि समितिले छलफलका लागि ऊर्जा मन्त्री, ऊर्जा सचिव, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, बुढीगण्डकी जलविद्युत् आयोजना, नलसिंहगाड जलविद्युत् आयोजना र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुखलाई छलफलका लागि बोलाएको थियो ।
समितिका सभापति गगन थापाले ऊर्जा मन्त्री ज्ञवालीलाई बैठक सुरु भएको जानकारी गराउँदै सहभागिताका लागि अनुरोध गर्दै टेलिफोन गर्नुभएको थियो । टेलिफोनमा मन्त्री ज्ञवालीले आफूलाई ज्वरो आएका कारण बैठकमा सहभागी हुन नसक्ने बताउनुभएको सभापति थापाले सांसदहरु र सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।
“मन्त्री नै सहभागी नभएपछि बैठकमा महत्वपूर्ण छलफल गर्न सकिने भएन, त्यही भएर आजको बैठक स्थगित गरिएको हो”– सभापति थापाले भन्नुभयो । केही सांसदहरुले समितिको बैठक अगाडि बढाउन आग्रह गर्नुभएपनि मन्त्रालयको विषयमा जानकारी गराउन र छलफलका लागि मन्त्री नै आवश्यक रहेको सभापति थापाले बताउनुभयो ।
समितिले कृषि विकास, ऊर्जा, सिँचाइ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको कार्यप्रगति र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गरिएका विषयमा निरन्तर छलफल तथा अनुगमन गर्दै आएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया