आइतबार, फागुन २३ २०७७
काठमाडौं २०:५८
वासिङटन डिसी 10:13

एमाओवादीले जातीय राज्य मागेको होइन: अध्यक्ष दाहाल

इनेप्लिज २०७१ माघ २९ गते १४:१६ मा प्रकाशित

prachanda-babu1काठमाडौँ, २९ माघ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतालाई एकलौटी रुपमा नेपाली काँग्रेस र नेकपा (एमाले) ले तोडेको आरोप लगाउनुभएको छ ।

प्रमुख दल र तत्कालीन नेकपा (माओवादी) बीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षहरूबीच भएका सहमतिको विपरित बहुमतको दम्भ देखाएर सत्तारुढ दल अगाडि बढेका कारण त्यसको जानकारी संयुक्त राष्ट्रसङ्घलाई समेत गराउने उहाँले बताउनु भयोे ।

‘पहिचानवादी युवा शक्ति घोषणासभा’ लाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान निर्माण प्रक्रियालाई अल्पमत र बहुमतको खेल बनाइएकोमा आपत्ति प्रकट गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘‘शान्ति सम्झौता कसले तोडेको हो, किन सत्तारुढ दल सो सम्झौताको पक्षमा देखिएनन् भन्ने विषयमा राष्ट्रसङ्घलाई जानकारी गराउँछौ ।’’

आफ्नो पार्टीले जातीय राज्य कहिल्यै पनि नमागेको, तर सबैले अधिकार पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनतालाई अधिकार दिन नचाहने प्रवृत्तिले नै संविधान लेखन प्रक्रियालाई समस्यामा पारेको बताउनुभयो ।

एउटा निर्वाचन जित्दैमा काँग्रेस र एमालेका केही नेतामा दम्भ चढेको भन्दै उहाँले एमाओवादीलाई जातीवादीको आरोप लगाएर एकल जातीय राज्य बनाउने पक्षमा उनीहरू लागेको तर्क गर्नुभयो ।

केही नेतालाई आफू नै राजा महाराजा भएको भन्ने भूत चढेको आरोप लगाउँदै अध्यक्ष दाहालले जनताको चाहना र भावनाविपरीत गए उनीहरूको अस्तित्व समेत नामेट हुने जिकिर गर्नुभयो ।

एमाओवादी सबल र सक्षम रुपमा आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन लागेकोमा जोड दिदै उहाँले जातका आधारमा राज्यको पुनःसंरचना नहुने, तर पहिचानलाई भने जोड दिनुपर्ने धारणा राख्नुभयो ।

अघिल्लो संविधानसभाको निर्णयलाई अहिलेको संविधानसभाले स्वीकार गरिसकेको हो भने राज्य पुनःसंरचनाको आधारका रुपमा पहिचानका पाँच र सामथ्र्यका चार आधार तय गरिसकेकाले त्यसलाई नै स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यही माघ ११ गते बुहमतीय प्रक्रियाका आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन खोजिएको भन्दै उहाँले त्यो गलत कदम नसच्याउँदासम्म सत्तारुढ दलसँग वार्ता नगरिने पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा आदिवासी जनजाति आन्दोलनका केन्द्रीय समन्वय समितिका संयोजक पद्मरत्न तुलाधरले आफूहरूले कहिल्यै जातीय राज्य नमागेको तर केही दलले जातिवादीको आरोप लगाएर अधिकार दिन नचाहेको बताउनुभयो ।

सो अवसरमा एमाओवादीको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनमा आवद्ध दलका युवा सङ्गठन आवद्ध रहेको ‘पहिचानमा आधारित युवा शक्ति’ घोषणा गरिएको थियो ।

प्रतिक्रिया