शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १७:११
वासिङटन डिसी 07:26

प्रधानमन्त्रीबाट लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त

इनेप्लिज २०७१ माघ २८ गते १६:३६ मा प्रकाशित

sushil-koiralaकाठमाण्डौँ, २८ माघ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को प्रमुख कार्यकारी अधिकृत दाना जे हाइडसहितको प्रतिनिधि मण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका विषयहरु सहमतिबाट टुङ्ग्याउन प्रयास जारी रहेको बताउँदै भन्नुभयो, “सहमति नभए लोकतान्त्रिक विधिबाट संविधान जारी गर्न हामीले प्रक्रिया थालनी पनि गरेका छौँ । लोकतन्त्रले हरेक समस्याका निकास दिएको छ । हामी त्यसैलाई अबलम्बन गर्नेछौँ ।”

उहाँले दलहरु सहमतिमा आउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “शान्ति निर्माण प्रक्रियाकोे हतियार व्यवस्थापन र लडाकू समायोजनजस्ता असाध्यै जटिल गाँठाहरु त हामीले आपसी सहमतिले सुल्झायौँ भने संविधानका विषय नसुल्झने म देख्दिन ।”

प्रधानमन्त्री कोइरालाले सहमतिका लागि आफू असाध्यै लचिलो ढङ्गले प्रस्तुत भएर गेट नै क्रयास गरेर आन्दोलनमा गएका एमाओवादी अध्यक्ष प्रचण्डको निवाससम्म पुगेको उल्लेख गर्नु भयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मिलिनियम च्यालेञ्ज कर्पोरेसनको सहयोग प्राप्त गर्ने मुलुकमा नेपाललाई चयन गरेकोमा श्रीमती हाइडप्रति धन्यवाद प्रकट गर्नुभएको थियो । उहाँले भारतसँग भएका विद्युत व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका डेभलपरसँग भएको परियोजना सम्झौताले नेपालमा विश्वको लगानी कर्तालाई ढोका खुलेको उल्लेख गर्नुभयो ।

उहाँले जलस्रोत, पर्यटन, कृषि, उद्योग र पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई सरकारले आह्वान गरेको पनि बताउनुभयो ।

भेटमा एमसीसीमा भएको चयन अमेरिका र नेपालको विकास साझेदारीको बलियो उदाहरण भएको कार्यकारी अधिकृत हाइडले बताउनुभएको थियो ।

उहाँले नेपालको शासन सकारात्मक र सही दिशामा गएको मूल्याङ्कन गरेर नै नेपाललाई चयन गरिएको उल्लेख गर्नु भयो । उहाँले यस कार्यक्रम अन्तर्गत आउने सहयोग राशि नेपालको ऊर्जा, पूर्वाधार विकास र सडक निर्माणमा खर्च हुने जानकारी दिनु भयो ।

गत मङ्सिर २६ गते (डिसेम्बर १२) एमसीसीको सञ्चालक समितिले यसको कम्प्याक्ट कार्यक्रमका लागि नेपाललाई चयन गरेको थियो । उसले आर्थिक स्वतन्त्रता, नागरिकमाथिको लगानी र सामाजिक न्यायका पक्षमा नेपालमा भएका प्रगतिहरुलाई मापक मान्दै यो निर्णय गरेको थियो । जसमा लोकतन्त्रलाई संस्थागत गर्न चालिएका कदमहरु, बढ्दो शान्ति र स्थायित्व, शान्तिपूर्ण निर्वाचन र लडाकूहरुको समायोजन जस्ता विषयमा भएका प्रगतिहरु समेटिएको थियो । यस अन्तर्गत १० करोड देखि ६० करोड डलर सहयोग प्राप्त गर्न सकिनेछ ।

भेटमा अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई र आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया