शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०७:४२
वासिङटन डिसी 20:57

नेपाल–भारत सीमा सुरक्षा संयुक्त बैठक सुरु

इनेप्लिज २०७१ माघ २७ गते १५:५५ मा प्रकाशित

nepal+india_250पोखरा, २७ माघ । नेपाल—भारत गृह सहसचिवस्तरीय सीमा सुरक्षा संयुक्त बैठक आजदेखि यहाँ सुरु भएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा दुई देशको सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने आपराधिक तथा आतङ्कवादी गतिविधि, लागुऔषध ओसापोसर नियन्त्रणका साथै भारतबाट नेपाल आइरहेको नक्कली नेपाली रुपैयाँ नियन्त्रणका बारेका छलफल हुनेछ । खुला सिमानाका कारणले दुई देशबीचमा हुने समस्या र आपराधिक तथा आतङ्कवाद नियन्त्रणका लागि चालिएका रणनीति र त्यसको प्रभावकारिता साथै भावी योजनाका बारेमा छलफल हुने गृह मन्त्रालयले बताएको छ । बैठक सीमा अतिक्रमण, अवैध हातहतियार तथा सामान ओसारपोसार, चेलीबेटी बेचबिखनलगायत विषयमा पनि छलफल केन्द्रित रहनेछ ।

पछिल्लो समय नक्कली नेपाली रुपैयाँको कारोबारमा भारतीय नागरिकको बढ्दो संलग्नता र कारोबारकर्ताको बयानबाट नक्कली रुपैयाँ भारतीय क्षेत्रमा छापिने गरेको खुलेपछि नेपालले पहिलो पटक दुवै देशका गृह मन्त्रालयका अधिकारीको औपचारिक बैठकमा नक्कली नोट नियन्त्रणको विषय उठाउँदै छ ।

नेपाली टोलीको नेतृत्व गर्नुभएका गृह मन्त्रालय, सुुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालले नेपालका तर्फबाट नक्कली नेपाली रुपैयाँको कारोबार र नियन्त्रणमा छलफल हुने बताउनुभयो । चार वर्षमा नेपालमा १६ लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँसहित कारोबारकर्ता पक्राउ परेका छन् । ढकालका अनुसार बैठकमा नेपाली टोलीमा कानुन र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नापी विभाग महानिर्देशकसँगै मोरङ, पर्सा, बाँके, रुपदेन्हीका प्रजिअ संलग्न हुनुहुन्छ ।
भारतको गृह मन्त्रालयका सहसचिव हितेशकुमार मकवानाले नेतृत्व गरेको भारतीय टोलीमा गृह मन्त्रालयका डेपुटी डाइरेक्टर रितु मिश्र, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, विहारका डिआइजी आलोक राज, उत्तर प्रदेशका गृहसचिव कमल सक्सेना, उत्तराखण्डका प्रतिनिधि, सिक्किम र वेस्ट बङ्गालका अधिकारी सहभागी छन् ।

प्रतिक्रिया