सरकारद्वारा सत्य निरुपण र बेपत्ता आयोगमा नियुक्ति
काठमाडौँ, २७ माघ । नेपाल सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहितका पदाधिकारीको नियुक्ति गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोग गठनका लागि गठित छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई दुई वर्षका लागि नियुक्त गरेको हो ।
सरकारले सत्य निरुपण आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झालाई नियुक्त गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बताउनुभयो ।
त्यस्तै, बैठकले बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक तथा सदस्यमा बिजुल विश्वकर्मा, प्रा डा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ को दफा ३ बमोजिम मानवाधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिबारे सत्य अन्वेषण र छानबिन गरी यथार्थ विवरण जनसमक्ष ल्याउन आयोग गठन गर्ने कानुनी प्रावधानअनुसार सो नियुक्ति दिइएको हो ।
ऐनअनुसार आयोगले पीडक र पीडितबीच मेलमिलाप गराउन, पीडितलाई परिपूरणको व्यवस्था गर्न र त्यस्तो घटनासँग संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ ।
दुवै आयोगमा सरकारले दुई वर्षका लागि नियुक्त गरिएको भए पनि आयोगले आफ्नो काम नसकिएको अवस्थामा बढीमा एक वर्षसम्म समयावधि थप्न सक्ने ऐनमा व्यवस्था रहेको कानुन मन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो ।
शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने दुई महत्वपूर्ण आयोग गठनका लागि सरकारले गत असार २ गते गठन गरेको सो समितिले आठ महिनासम्म विभिन्न प्रक्रिया र विधिमार्फत नाम सङ्कलन गरी सोमबार मात्र सरकारलाई नाम सिफारिस गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठित सो सिफारिस समितिको सदस्यमा सुदीप पाठक, प्राडा घनश्यामलाल दास, प्रदीप पोखरेल र शान्तिदेवी खनाल रहनुभएको थियो । सरकारले समितिको कामको प्रशंसा गर्दै धन्यवादसमेत ज्ञापन गरेको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया