बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०३:५९
वासिङटन डिसी 18:14

उद्योग मन्त्री बस्नेतद्वारा आगलागी क्षेत्रको अनुगमन

इनेप्लिज २०७१ माघ २५ गते १४:४३ मा प्रकाशित

Rss_Images_1423389316133_RG- BKT-Mantri Basnet Photo-25भक्तपुर, २५ माघ । उद्योगमन्त्री महेश बस्नेतले अनन्तेश्वर नगरपालिका–१ बालकोटस्थित जितबहादुर खड्काले सञ्चालन गरेको कालिन्चोक कपास उद्योगमा भएको आगलागीको अनुगमन गर्नुभएको छ ।

आज दिउँसो आगलागी क्षेत्रमा पुगेर सञ्चालक खड्का र स्थानीय बासिन्दासँग आगलागीको कारण र आगलागीबाट भएको क्षतिपूर्तिका बारेमा जानकारी लिनुभएको थियो ।

आगलागीबाट करिब रु ४५ लाखको क्षति भएको सञ्चालक खड्काले जानकारी गराउनुभयो । विद्युत् नभएको बेला केही व्यक्तिले पेट्रोल छर्केर लगाइदिएको उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले उद्योग सञ्चालकले बीमा गर्नुपर्नेमा बीमा नगरी उद्योग सञ्चालन गर्दा यस्ता भवितव्यमा समस्या हुने बताउनुभयो । उहाँले क्षतिपूर्तिको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएमा नियमानुसार क्षतिपूर्ति भराइदिने आश्वासन दिनुभयो ।

हिजो राति ९ बजे लागेको आगो मध्यराति २ बजे नियन्त्रणमा आएको थियो ।

आगलागी भएलगत्तै खबर गरे पनि ढिलो गरी मात्रै दमकल आएको भन्दै स्थानीय केहीले आक्रोस व्यक्त गर्दै दमकललाई ढुङ्गा प्रहारसमेत गरेका थिए ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, काठ्माण्डौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका दमकल गरी ६ वटा दमकलले आगो नियत्रन्त्रणमा लिएको थियो ।

प्रहरीले सोधपुछका लागि उद्योगमा कार्यरत पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया