मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १२:१५
वासिङटन डिसी 01:30

अदुअआलाई असहयोग गर्ने प्रहरी हिरासतमा

इनेप्लिज २०७१ माघ २४ गते १५:३७ मा प्रकाशित

CIAA1नेपालगन्ज, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीमा अवरोध पुर्‍याएको आरोपमा भेरी अञ्चल प्रहरी कार्यालयले १३ प्रहरी अधिकृत तथा जवानलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

तीमध्ये छ प्रहरीलाई निलम्बनसमेत गरिएको छ । निलम्बन गरिएकामा प्रहरी हवल्दारत्रय इन्द्रबहादुर शाही, टेकबहादुर पुन, पूर्णबहादुर बस्नेत, प्रहरी जवान पूर्ण महतरा, प्रकाश भण्डारी र रामबहादुर खड्का छन् । निलम्बित सबै बाँके जिल्ला प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी कर्मचारी भएको जनाइएको छ ।

अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार आयोगको अनुसन्धानलाई असहयोग गरेको आरोपमा उनीहरुलाई कारबाहीको दायरा ल्याइएको हो । शुक्रबार राति नेपालगन्जको धम्बोझीस्थित एक रेस्टुरेन्टबाट घुस लिँदै गरेको अवस्थामा आयोगका कर्मचारीले प्रहरी नायब निरीक्षक सुमन खरेललाई पक्राउ गरेको थियो ।

अभियुक्त खरेलको कारबाही प्रक्रियामा असहयोग र बाधा सिर्जना गरेको अभियोगमा ती प्रहरीमाथि कारबाही चलाइएको हो । अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार प्रहरी नायब निरीक्षक खरेल केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका नेपालगन्जका युधिरसिंह ठकुरीका दाइ युवराजसँग मुद्दा मिलाइदिने भन्दै रु २५ हजार घुस लिँदै गर्दा पक्राउ परेका थिए ।

प्रतिक्रिया