सोमबार, कार्तिक १० २०७७
काठमाडौं १६:०६
वासिङटन डिसी 06:21

नेपालले पूर्वाधार विकासमा जोड दिएको छ: अर्थमन्त्री डा. महत

इनेप्लिज २०७१ माघ २३ गते १६:३७ मा प्रकाशित

timthumb3काठमाडौँ, २३ माघ । अर्थमन्त्री डा.रामशरण महतले नेपालले पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेको बेलायतका सांसदको प्रतिनिधिमण्डलसँग आज अर्थमन्त्रालयमा भेटगर्दै उहाँले ठूला पूर्वाधारका साथै ग्रामीण सडक, ऊर्जा, सिंचाईलगायतका क्षेत्रमा प्राथमिकता दिइएको र लगानी बढाइएको जानकारी दिनुभयो ।

बिगत वर्षका तुलनामा विकासका काममा तीब्रता आएको र विकास खर्च गतवर्षका तुलनामा ५१ प्रतिशतले बढेको बताउँदै अर्थमन्त्री डा महतले अर्थमन्त्रालयले अन्य मन्त्रालयसँग सुसंयोजन गरी कामको समीक्षा गरिरहेको बताउनुभयो ।

विकास सहायतानीतिमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई सरकारको लेखा प्रणालीमा ल्याइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “साना आयोजना अनुगमन गर्न झन्झटिलो हुने भएकाले सीमित ठूला आयोजनामा केन्द्रित भइ रु ५० करोड भन्दाबढी रकमका आयोजनामा मात्र विदेशी सहयोग लिने व्यवस्था गरिएको हो । तर प्राविधिक सहयोगमा भने यस्तो सीमा रहेको छैन ।”

बेलायतद्वारा सञ्चालित आयोजनाको समीक्षा गर्न र थप सिफारिस गर्नका लागि सांसद् तथा बेलायतको संसदअन्तर्गतको अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्ष माल्कम ब्रुसको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल हालै नेपाल भ्रमणमा आएको छ ।

आठ दिनसम्म नेपाल रहँदा प्रतिनिधिमण्डलले बेलायतद्वारा सञ्चालित विभिन्न आयोजनाको अध्ययन भ्रमण पनि गर्ने अर्थमन्त्रालयले जनाएको छ ।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारी र बेलायतका संसदको प्रतिनिधिमण्डलका सदस्यहरु, नेपालका लागि बेलायतका राजदूत एण्ड्र्यू स्पार्क्स तथा दूतावासका अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया