राणाले कार्यकर्तालाई धम्की दिँदै कारबाही गरे: राप्रपा नेता चन्द
भक्तपुर, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टी नेता पशुपतिशमशेर राणाले विभिन्न जिल्लाका कार्यकर्तालाई डरधम्की देखाई विधान विपरीत कारबाही गरेको आरोप लगाउनु भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा आज आयोजना गरेको पत्रकारसम्मेलनमा नेता चन्दले राणाले पार्टीको आफू नै अध्यक्ष हुँ भन्दै अराजक र अनधिकृत रुपमा महाधिवेशनको म्यान्डेट विपरीत कार्यकर्तालाई धम्की दिँदै कारबाही गरेको भन्दै आपत्ति जनाउनु भयो ।
राप्रपाको महाधिवेशनले पार्टी नेतृत्व चक्रीय प्रणालीमा जाने निर्णयअनुसार सूर्यबहादुर थापा पछि आफू नै अध्यक्ष भएको दाबी गर्दै चन्दले यसबारे कसैलाई भ्रम भए विशेष महाधिवेशन बोलाई कार्यकर्ताबाट सत्यतथ्य छिनोफानो गर्न आफू तयार रहेको बताउनुभयो ।
राणाले आफूलाई पार्टीको अध्यक्ष घोषणा गरिएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राणाले गरेको कारबाही मान्य नहुने समेत बताउनुभयो ।
राप्रपालाई दुरुपयोग गर्ने संस्कृति र अरू दलको पुच्छर बनाउने प्रयासको भत्सर्ना गर्दै नेता चन्दले भन्नुभयो—“राप्रपाले लिएको मन्त्रालयअन्तर्गत ग्यासको अभाव हुनुले आफूहरुलाई लज्जाबोध भएको छ ।”
राष्ट्रिय राजनीतिमा देखिएको गतिरोधबारे बोल्दै उहाँले काँग्रेस–एमाले र एमाओवादी–मधेस केन्द्रित दललाई संविधान निर्माणकोे क्रममा सहमति भएका बुँदाहरुमा संविधान लेखन जारी गर्न र असहमति भएका विषयमा थप समय लिएर सहमति निर्माण गर्न सुझाव दिनुभयो ।
देश राजनीतिक सङ्कटतर्फ उन्मुख भएकामा चिन्ता ब्यक्त गर्दै उहाँले उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक अविलम्ब सम्बन्धित संयोजकले बोलाउनुपर्नेमा जोड दिनुभयो । राप्रपाको दृष्टिकोणमा सबै धर्मप्रति सम्मान र सद्भाव राख्ने आदर्शमा उभिएर नेपाललाई सनातन धर्मसापेक्ष राष्ट्रका रुपमा कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा राप्रपाका उपाध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्रीद्वय ध्रुबबहादुर प्रधान र परशुराम खापुङलगायत १३ जनाभन्दा बढी केन्द्रीय समितिका सदस्यको सहभागिता थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया