शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०१:५४
वासिङटन डिसी 16:09

गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताका विषयमा प्रश्न बन्दैन: वरिष्ठ नेता खनाल

इनेप्लिज २०७१ माघ २२ गते १२:३१ मा प्रकाशित

jhalanath-khanalकाठमाडौँ, २२ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षतालगायतका विषयमा प्रश्न बन्नै नसक्ने बताउनु भएको छ ।

राप्रपा नेपालले ती विषयमा पनि प्रश्नावली बन्नुपर्ने माग राख्दै संविधानसभाको आजको बैठकमा नाराबाजी गरेपछि सत्तारुढ दलका तर्फबाट उहाँको सो धारणा आएको हो ।

नेपालको अन्तरिम संविधान, प्रचलित विधि र गणतन्त्रात्मक व्यवस्थाअनुसार संविधान बन्न लागेकाले सो विषयमा प्रश्न गर्ने वा पुनः मतदान गर्ने विषय नै नहुने सत्तारुढ दलको भनाइ रहेको छ ।

संविधानका अन्य विषयमा छलफल गर्न सकिने, मतदान पनि हुने, तर्कवितर्क पनि गर्न सकिने भए पनि जनआन्दोलनको भावना विपरीत गएर संविधान जारी हुन नसक्ने सरकारको धारणा रहेको छ ।

यही माघ ११ गते संविधानसभाले गठन गरेको प्रस्ताव समितिले तयार पारेको कार्यविधिमा गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयताका विषयमा प्रश्न बन्नै नसक्ने बताएपछि राप्रपा नेपालले विरोध गरेको छ ।

सो दलले प्रस्ताव समितिको आजको बैठक बहिस्कारमात्रै गरेन, आजको संविधानसभाको बैठकमा समेत नाराबाजी गरेको थियो ।

संविधानसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता खनालले जनआन्दोलन र अन्तरिम संविधानको भावना विपरीत देखिने कुनै पनि विषयमा प्रश्न बन्नै नसक्ने बताउनुभयो ।

उहाँले स्थापित भइसकेका विषयमा प्रश्न बनाउने र मतदान गर्ने विषय गलत नियतका साथ आएको भन्दै त्यस्तो मागलाई स्वीकार गर्नै नसकिने धारणा राख्नुभयो । लोकतान्त्रिक प्रक्रियामा सधँै उग्रवामपन्थ र दक्षिणपन्थले अवरोध गर्दै आएको भन्दै खनालले दुईवटै प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर जनपक्षीय संविधान जारी गरिने बताउनुभयो ।

संविधानसभामा राप्रपा नेपालले गरेको अवरोधलाई उहाँले लोकतन्त्रले दिएको अधिकारका रुपमा टिप्पणी गर्दै अन्यथा नलिन आग्रह गर्नुभयो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने अन्तरिम संविधानमा आफूहरुले उठाएको विषयमा प्रश्न उठाउँनै नपाउने भन्ने विषय कहीँ पनि नभएकाले आफूहरुको मागको सुनुवाइ हुनुपर्ने बताउनुभयो ।

मतदानमा लगेर आफ्ना विषय हराइए पनि स्वीकार हुने भन्दै अध्यक्ष थापाले प्रक्रियामा नै जान नदिने भन्ने भनाइ गलत भएको र त्यसले लोकतन्त्रको खिल्ली उडाएको तर्क गर्नुभयो । नेपाली काँग्रेस र नेकपा (एमाले) ले लोकतन्त्रको खिल्ली उडाएको भन्दै थापाले जबर्जस्ती गर्न खोजिए सङ्घर्ष गरिने र जनतामा जाने पनि बताउनुभयो ।

बहुमतको बलमा आफूहरुले पाएको मतको अवमूल्यन गरिएको भन्दै थापाले फरक विचारलाई पनि सम्मान गर्न सचेत गराउनुभएको थियो । संविधानसभाको आजको बैठकमा एकीकृत नेकपा (माओवादी), मधेसवादी दललगायत संविधानसभामा रहेका १९ दल भने अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया