माग सुनुवाइ नभएको भन्दै राप्रपा नेपालको अवरोध
काठमाडौँ, २२ माघ । संविधानसभाको आजको बैठकमा राप्रपा नेपालले आफूहरुले उठाएको विषयमा सुनुवाइ नभएको भन्दै नाराबाजी र अवरोध गरेको छ ।
प्रस्ताव निर्माण समितिले संविधानका विवादित विषयमा प्रश्न बनाउने कार्यादेश पाएको भए पनि आफ्नो पार्टीको धारणाको कुनै पनि सुनुवाइ नगरिएको भन्दै आपत्ति प्रकट गर्यो । सङ्घीयता, धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा पनि प्रश्न बनाउनुपर्छ भन्ने पार्टीको माग भए पनि नेपाली काँग्रेस र नेकपा(एमाले)लगायत दलले जबर्जस्ती गरेको अध्यक्ष कमल थापाले आरोप लगाउनुभयो ।
अध्यक्ष थापाले आफूहरु प्रक्रियाका आधारमा संविधान जारी गर्नुपर्छ भन्ने मान्यतामा रहेको भए पनि फरक विचारलाई निषेध गर्ने प्रवृत्ति गलत र घातक भएको भन्दै प्रजातन्त्रमा कोही कसैलाई निषेध गर्न नमिल्ने धारणा राख्नुभयो । आफूहरुले बोकेको विचार गलत भए मतदानबाट हराइए पनि स्वीकार गर्ने भन्दै उहाँले प्रश्नावली नै नबन्ने भन्ने विषय पूर्णतः गलत भएको बताउनुभयो ।
यही माघ ११ गते गठित प्रस्ताव समितिको माघ १७ गते बसेको बैठकले बनाएको कार्यविधिमा सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत विषयमा मतदान नहुने र प्रश्न नबन्ने उल्लेख छ । प्रस्ताव समितिमा सहभागी भएको राप्रपा नेपालले आफूहरुको माग सुनुवाइ नभएको भन्दै बैठक नै बहिस्कार गरेको थियो ।
संविधानसभाको आजको बैठकमा सभाध्यक्षसँग समय लिएर राप्रपा नेपालका अध्यक्ष थापाले प्रक्रियामा हराइए पनि आफूहरुले उठाएको विषयमा प्रश्न बन्नुपर्ने माग गर्नुभएको थियो ।
उहाँले प्रक्रियामा नै प्रवेश गर्न नदिने प्रवृत्ति लोकतन्त्रका लागि घातक भएको भन्दै जबर्जस्ती नगर्न काँग्रेस, एमालेलगायत दललाई आग्रह गर्नुभयो । एकीकृत नेकपा(माओवादी), मधेसकेन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्नेमा आफ्नो दललाई समेत बाहेक गर्न खोज्नाले संविधानसभाबाट संविधान बन्न नदिने खेल सुरु भएको आशङ्का व्यक्त गर्नुभयो ।
सभाध्यक्ष नेम्वाङले राप्रपा नेपालले उठाएको विषय गम्भीर भएको र त्यसमा ध्यानाकर्षण भएको तर अहिले समय नभएको जानकारी गराउँदै गर्दा सो दल सम्बद्ध सभासद्ले नाराबाजी सुरु गर्नुभएको थियो ।
नाराबाजी र अवरोध भए पनि प्रस्ताव समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको समय पाँच दिन थप गर्नेसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्ताव पेस भएलगत्तै सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक यही माघ २९ गते अपराह्न १ बजेका लागि स्थगन भएको जानकारी गराउनुभएको थियो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया