सोमबार, कार्तिक १० २०७७
काठमाडौं २३:५१
वासिङटन डिसी 14:06

पुर्व शिक्षामन्त्रीको खुलासा ‘साझा डुब्नुमा दातृ निकायको हात’

इनेप्लिज २०७१ माघ २१ गते १६:०८ मा प्रकाशित

प्रकाश सिलवाल

pradeep-nepaldinanathकाठमाडौँ, २१ माघ । पूर्व शिक्षामन्त्रीहरूले पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता मानिने पुरानो संस्था साझा प्रकाशन आर्थिक सङ्कटमा पर्नुमा शिक्षाका दातृ निकायकै हात रहेको स्पष्ट गर्नुभएको छ ।

उहाँहरूले आफू पदमा रहँदा सो संस्थाको कार्यक्षेत्रलाई हस्तक्षेप नगर्न प्रयास गरिएको भए पनि सफल नभएको जनाउनु भएको थियो ।

‘साझा बचाउ अभियान’ का लागि प्रकाशनले आज केन्द्रीय कार्यालय, पुल्चोकमा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा पूर्व शिक्षामन्त्रीहरूले सो धारणा राख्नुभएको हो ।

पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता प्रदीप नेपाल, एमाओवादीका नेता तथा पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले दातृ निकायको अडानका कारण निजी क्षेत्रलाई पाठ्यपुस्तक विक्री वितरणको जिम्मेवारी दिइएको बताउनुभयो ।

पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितले पनि साझा प्रकाशनको काम खोसेर निजी क्षेत्रलाई विश्वासमा लिँदा आम स्रष्टाको सहकारीको रूपमा रहेको प्रकाशन आर्थिक सङ्कटमा परेको बताउनुभयो ।

विभिन्न वित्तीय संस्थाको ऋण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको बक्यौता र कर्मचारीको तलब÷भत्ता गरी प्रकाशनलाई हाल करिब रु ३५ करोड आवश्यक रहेको नवनियुक्त महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले अवगत गराएपछि उहाँहरूले सरकारले यसबारे गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

पूर्व मन्त्री नेपालले भन्नुयो, “म शिक्षामन्त्री हुँदादेखि नै साझा प्रकाशन बचाउन विभिन्न प्रयास गरिएको भए पनि दातृ निकाय र अन्य निकायको दबाबका कारण सफल हुन सकेन ।”

दातृ निकायले सरकारी निकायको भर पर्दा समयमा विद्यालय तहका पाठ्यपुस्तक उपलब्ध हुन नसकेको जनाउँदै निजी क्षेत्रलाई पनि उत्पादन र वितरणको जिम्मेवारी दिन दबाब दिने गरेको गुनासो सरोकार भएकाले गर्दै आएका छन् ।

सरकारले विसं २०६४ देखि विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएपछि पूर्वाञ्चल र पश्चिमाञ्चलका लागि आधारभूत तहका पाठ्यपुस्तकको छपाइ र वितरणको जिम्मेवारीमा निजी क्षेत्रलाई अग्रसर गराइएको छ ।

ऐक्यबद्धता कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति वैरागी काइँला, साहित्यकारहरू कमलमणि दीक्षित, गणेश रसिक, अशेष मल्ल, अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, राष्ट्रिय अभिभावक सङ्घ नेपालका अध्यक्ष धर्मदत्त देवकोटालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया