मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २३:२१
वासिङटन डिसी 13:36

प्रक्रिया र सहमतिका लागि वार्ता र संवाद सँगसँगै लैजाने एमालेको निर्णय

इनेप्लिज २०७१ माघ २१ गते १४:४७ मा प्रकाशित

uml-officeकाठमाडौँ, २१ माघ । नेकपा (एमाले) प्रस्ताव निर्माण समितिको कामलाई प्रभावकारी बनाउँदै सहमतिको खोजीका लागि वार्ता र संवादलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ ।

एमाले स्थायी समितिको आज बसेको अनौपचारिक बैठकले संविधानसभामा अल्पमतमा रहेका दल (एमाओवादी नेतृत्वको मोर्चा) लाई संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न वार्ता र संवादमा आउन यस अघि गरिएकोे आह्वानलार्इं स्मरण गराउने निर्णय समेत गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाली जनतालाई संविधानसभाबाट यथाशिघ्र संविधान दिने र त्यसका लागि सहमति खोज्ने मनसाय अल्पमत पक्षको रहेको हो भने सबै खाले आन्दोलन, द्वन्द्व र अन्तरविरोध चर्काउने गतिविधि रोकेर वार्तामा आउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

बैठकपछि उपाध्यक्ष भीम रावलले संविधानसभा प्रस्ताव निर्माण समितिमा छलफलका अन्तरवस्तु कसरी अघि बढेको भन्नेमा केन्द्रित रहेर छलफल र विचारविमर्श भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“एमाले सहमतिको खोजीमा छ, सहमतिबाटै अघि बढ्न चाहन्छ तर त्यसो हुन सकेन भने संविधानसभाको निर्वाचनको समयमा सबै राजनीतिक दलले जनतासँग प्रतिबद्धता गरेअनुरुप प्रक्रियामा गएर छिनोफानो गर्नुपर्छ, यसमा कसैले विमति गर्न हँुदैन ।”

“प्रस्ताव निर्माण समितिले काम आरम्भ गरको छ, यसले काम अघि बढाओस्, संविधानसभा कामविहीन हुने, सभासद् भत्ता खाएर बस्ने, जनताको चाहनाअनुसार संविधान लेखनको काम अघि बढ्न नसक्ने गतिविधिले देश, जनता र लोकतन्त्रको हित नगर्ने भएकाले सहमतिको खोजीलाई कायममै राखेर प्रक्रिया अघि बढाइएको हो”–रावलले भन्नुभयो ।

अघिल्लो संविधानसभाको पूरै अवधि र गएको एक वर्षदेखि एमाले र नेपाली काँग्रेससहितका दलले संविधान लेखनका लागि सहमतिको अथक प्रयास गरिए पनि परिणाम हात लाग्न नसकेको वास्तविकतालाई सबैले बुझ्न आवश्यक रहेको उपाध्यक्ष रावलको कथन थियो ।

प्रतिक्रिया