एक वर्षपछि बलात्कारी पक्राउ

इनेप्लिज २०७१ माघ २० गते ८:४० मा प्रकाशित

Arrest_20140611020244गौशाला, २० माघ । बाटो हिँड्दै गरेकी एक महिलालाई जबर्जस्ती बलात्कार गरी विगत एक वर्षदेखि फरार रहँदै आएका एकजनालाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बनौटा गाविस–२ बस्ने २० वर्षीय जयराम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका यादवले २०७० साल माघ २ गतेका दिन साँझपख जनकपुरबाट पडौल आउँदै गरेकी एक ३५ वर्षीया महिलालाई पडौल–७ स्थित आँप बगैँचामा एक्लै फेला पारेर जबर्जस्ती खेतमा लगी बलात्कार गरेको आरोप रहेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

घटनापछि महिलाले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएको कुरा थाहा पाएर सोही दिनदेखि भारतमा लुकी बस्दै आएका यादवलाई घरमा आएको खबर पाउनासाथ आज बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरी ल्याएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो ।

पक्राउ परेको बलात्कारीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया