आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १६:२७
वासिङटन डिसी 06:42

मस्जिदमा भएको आक्रमणमा ६१ को मृत्यु

इनेप्लिज २०७१ माघ १७ गते १६:२० मा प्रकाशित

safe_image.phpसिकारपुर (पाकिस्तान), १७ माघ । पाकिस्तानको दक्षिणी भागमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ ।

पाकिस्तानी सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबारसम्ममा मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सिया र सुन्नी जातीय आक्रमणको यो पछिल्लो क्रुर शृंखला भएको पनि बताइएको छ ।

सिन्ध प्रान्तको सिकारपुरमा अवस्थित मस्जिदमा भएको सो आक्रमणमा मारिनेमा सिया मुस्लिम जातीका नागरिक परेका छन् । कराचीबाट करिब ४७० किलोमिटर उत्तरमा अवस्थित सो मस्जिदमा यसअघि पनि आक्रमणको प्रयास भएको बताइएको थियो ।

सो मस्जिदमा शुक्रबारको प्रार्थनामा सयौँ व्यक्ति भेला भएको समय पारी सो हमला भएको हो । त्यसमा परी ५० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ ।

पाकिस्तानका कट्टरपन्थी सुन्नी मुसलमान समूहले सिया अल्पसङ्ख्यकमाथि विगतदेखि नै यस्ता क्रुर हमला गर्ने गरकोे देखिएको छ । पाकिस्तानमा सिया मुसलमान समुदायको जनसङ्ख्या करिब २० प्रतिशत रहेको अनुमान गरिएको छ ।

क्षतविक्षत सो मस्जिदमा शनिबार मारिएका व्यक्तिको शव खोजी अभियान सुरु गरिएको छ । प्रहरीले उक्त मस्जिद भवन ध्वस्त नै भएको बताएको छ । यसलाई प्रहरीले निकै नै शक्तिशाली आक्रमण भनेको छ ।

मस्जिदको छत खसेको र त्यसमा च्यापिएर धेरैले ज्यान गुमाएका छन् । त्यसमा परेर पुरिएका व्यक्तिलाई बाहिर निकाल्न शनिबार पनि सैनिक र प्रहरीले काम गरिरहेको जनाइएको छ ।

सिया मुसलमानद्वारा व्यापक प्रदर्शन    

यसैबीच मारिने सिया मुसलमानहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरुको हत्याको विरोधमा कराचीमा शनिबार हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् ।

सिया मुस्लिम समुदायका नागरिकले सो प्रदर्शन गरेका हुन् । उनीहरुले शनिबार हजारौँको सङ्ख्यामा उपस्थित भई विरोध गरेका छन् । उनीहरुले आफुमाथि परेको अन्यायका लागि बोलिदिन सरकारसँग आग्रह पनि गरेका थिए ।

उता प्रान्तीय गभर्नरको कार्यालयले सिकरपुर क्षेत्रमा शनिबार शोकको घोषणा गरेको छ । जसका कारण शनिबार सो क्षेत्रमा सवारी चलेका छैनन् भने विद्यालय र सरकारी कार्यालय पनि बन्द भएका छन् । रासस/एएफपी

प्रतिक्रिया