मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०६:१९
वासिङटन डिसी 20:34

मलासका बासिन्दाको पीडाः प्यास मेट्न चार घन्टा पैदल

इनेप्लिज २०७१ माघ १५ गते ७:०५ मा प्रकाशित

img_6711भीमदत्तनगर, १५ माघ । गाउँमै खानेपानीको धारा नहुँदा डडेल्धुराको जोगबुढा–४ मलासका बासिन्दाले चार घन्टा टाढाबाट पैदल हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।

चुरे शृङ्खलामा रहेको डडेल्धुराको सीमावर्ती गाउँ मलासका ७०/८० परिवारले पानीको प्यास मेटाउनै लागि निकै सास्ती खेप्दै आएका छन् ।

“वर्षात्को पानी सङ्कलित भएको अहिलेको समयमा त चार घन्टामै घरमा पानी पुर्‍याउन सकिन्छ,” मलासका स्थानीयवासी विवेक धामीले भन्नुभयो, “फागुन–चैततिर त त्योभन्दा पनि धेरै टाढा जानुपर्छ ।” पानी खोज्नकै लागि मलासवासीले धेरै समय खर्चिनुपरेको धामी बताउनुहुन्छ ।

स्थानीय बासिन्दाले आकासे पोखरीको फोहर पानी समेत पिउन बाध्य रहेको उहाँको भनाइ छ । मलास मात्रै होइन, डडेल्धुरा जिल्ला सदरमुकामदेखि करिब १५० किलोमिटर टाढा रहेका चुरे क्षेत्रका दर्जनौँ गाउँबस्तीका बासिन्दा वर्षौंदेखि आकासे पोखरीको फोहर पानी पिउन बाध्य रहेको स्थानीयवासी बताउँछन् ।

भौगोलिक रुपमा पहाडी भू–भागको फेद र तराईको उद्गम स्थलका रुपमा रहेको डडेल्धुरा र कञ्चनपुर जिल्लाको सिमानामा पर्ने चुरे क्षेत्रमा रहेका दर्जनौँ गाउँका करिब २०० घर परिवारले वर्षात्को महिनामा सङ्कलन गरेको फोहर पानी पिउनुपर्ने बाध्यता छ । “कि त चार घन्टा टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता छ” स्थानीय पिरुलाल धामीले भन्नुभयो ।

चुरे क्षेत्रमा रहेका बड्डी मलास, पिपलकोट, बस्नेउटा, मलास, ददीगडा, तालिगडा, जिमरेगडालगायतका दर्जनौँ गाउँका स्थानीय बासिन्दा खानेपानीबाट वञ्चित छन् ।

कहिलेकाँही पानी अभावकै कारण स्थानीयस्तरमा सञ्चालित विद्यालयको पढाइ समेत प्रभावित हुने गरेको सिद्धनाथ माध्यमिक विद्यालय मलासका प्रधानाध्यापक कैलाशदत्त जोशीले बताउनुभयो । “पढाइ भइरहेका बेला पानी तिर्खा लागेमा विद्यार्थी भागेर घर जाने गरेका छन्,” प्राधानाध्यापक जोशीले भन्नुभयो, “कतिपय विद्यार्थीले पानी घरबाट बोतलमा बोकेर समेत ल्याउने गरेका छन् ।” पानीको अभावकै कारण विद्यालयमा बनेको शौचालय प्रयोगविहीन अवस्थामा रहेको जोशीले जानकारी दिनुभयो ।

आफूहरुले विगत लामो समयदेखि खानेपानीको माग गर्दै आएपनि सो क्षेत्रमा केन्द्र तथा जिल्लाबाट कुनै योजना नआउने गरेको स्थानीय पिरुलाल धामीको गुनासो छ । गाउँलेले स्थानीय राजनीतिक दल, समाजसेवीले खानेपानीको योजनाबारे चासो दिनुपर्नेमा जोड दिएका छन् ।

डडेल्धुरा जिल्लामा सञ्चालित ग्रामीण सामुदायिक खानेपानीले मलास क्षेत्रमा योजना सञ्चालन गरे पनि असफल भएको स्थानीयवासी बताउँछन् । जिल्ला विकास समितिले भने मलासक्षेत्रको खानेपानीको समस्याबारे कार्यालयमा कुनै जानकारी नआएको जनाएको छ ।

प्रतिक्रिया