शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १९:५३
वासिङटन डिसी 10:08

भक्तपुर साना हातहतियारको ‘ट्रान्जिट प्वाइन्ट’

इनेप्लिज २०७१ माघ १५ गते ६:४२ मा प्रकाशित

local-gunsभक्तपुर, १५ माघ । महानगरीय प्रहरी वृत्त थिमीले माघको पहिलो हप्ता सिक्सर रिभल्वर एक थान र त्यसमा प्रयोग हुने गोली एक थानसहित काभ्रे चिसापानी–७ बस्ने वर्ष १८ को अजय लामा र काभ्रे महादेवटार घर भई हाल च्याम्हसिंह बस्ने वर्ष २४ का मिलन तामाङलाई पक्राउ गर्‍यो ।

स्कुटरमा हतियार लुकाएर भक्तपुरबाट पेप्सीकोला जाँदै गरेका लामा र तामाङलाई प्रहरीले लोकन्थली चोकबाट नियन्त्रणमा लिएको हो ।

त्यस्तै, गत भदौमा भक्तपुरकै दधिकोटबाट ललितपुर लामाटार बस्ने वर्ष ४१ का सीताराम तितल र लामाटार–२ बस्ने वर्ष ३५ का लोकेन्द्र अवालेलाई २२ बोरको एक थान बन्दुक र १० राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।

पछिल्लो समय भक्तपुर साना हातहतियारको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा विकास भएको छ । साना हतियार प्रयोग गरेर भक्तपुरमा आपराधिक घटना भएको नपाइनु तर बारम्बार हतियार बरामद हुनुले भक्तपुर साना हतियार ओसार्ने नाकाका रुपमा विकास भएको देखिएको छ ।

प्रहरीले यसवर्ष मात्र चार थान हतियारसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । गत वर्ष प्रहरीले सात थान साना हतियार सहित आठ जनालाई हातहतियार तथा खरखजाना ऐन अनुसार मुद्दा चलाएको थियो । हतियारसहित मानिस पक्राउ परे पनि हतियार कुन प्रयोजनका लागि लाँदै गरेको हो भन्ने विषयमा प्रहरीले तथ्य पत्ता लगाउन भने सकेको छैन ।

पक्राउ परेका व्यक्तिले हतियार आफ्नो नभएको र एकै छिन अघि मात्र कसैले राख्न दिएको भन्दै बयान दिने भएकाले हतियार कुन प्रयोजनका लागि लाँदै गरेको हो भन्ने तथ्य पत्ता लगाउन नसकिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले बताउनुभयो ।

गत जेठमा जगातीमा दुई थान पेस्तोलसहित पक्राउ परेका गोपाल घलान र सविनराज धामीको बयानले पनि श्रेष्ठको भनाइलाई पुष्टि गर्दछ । उनीहरुले सो हतियार भएको झोला अपरिचित व्यक्तिले बनेपा जाउँ भन्दै गाडीमा राख्न लगाएको र उनीहरु मोटरसाइकलमा बनेपातर्फ गएको बयान दिएका थिए ।

“घरेलु हतियार प्रयोग गरेर चोरी, डकैती र हत्या जस्ता घटना भएता पनि बन्दुक, पेस्तोल तथा रिभल्वरजस्ता हतियार प्रयोग गर्दै ठूलो डकैती, चोरी, हत्या, अपहरणजस्ता आपराधिक घटना भक्तपुरमा भएको पाईंदैन,” एसपी श्रेष्ठले भन्नुभयो – “यसले भक्तपुरलाई साना हतियारको सुरक्षित स्थान र ओसार्ने नाकाका रुपमा प्रयोग गर्ने गरिएको देखिन्छ ।”

भक्तपुरमा नेपाल प्रहरीसँग नभएका हतियारसमेत बरामद भएको छ । विशेष गरी नेपाली सेनासँग मात्र हुने त्यस्ता हतियार अभियुक्तले कहाँबाट ल्याएको हो भन्नेसम्म प्रहरीले पत्ता लगाउन सकेको पाईंदैन । प्रहरीले गत जेठमा भक्तपुरको जगातीबाट ९ एमएमको ‘मेड इन जर्मनी’ लेखिएको पेस्तोल बरामद गरेपछि सो खुलासा भएको हो । सो हतियार नेपाल प्रहरीसँग पनि नभएको तत्कालीन भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले बताउनुभएको थियो ।

आपराधिक गतिविधिमा भन्दा पनि भक्तपुरलाई आपराधिक व्यक्तिहरुले आश्रयस्थलको रुपमा प्रयोग गरेको र सोही आधारमा भक्तपुर साना हतियार ओसार्ने नाकाका रुपमा पनि प्रयोग भएको हुनसक्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले हतियारसहित पक्राउ परेका व्यक्तिहरु अधिकांश भक्तपुरदेखि पूर्व सिन्धुपलाञ्चोक, काभ्रे, सिन्धुली र रामेछापका बढी पाइएको बताउँदै उतातिर अपराध गर्नेहरुले भक्तपुरको बाटो भएर हतियार लैजाने क्रममा बरामद हुने गरेकोसमेत जानकारी दिनुभयो ।
हालै लोकन्थलीमा बरामद गरिएको हतियारबारे अनुसन्धानका क्रममा काठमाडौँको काँडाघारीमा भएको दुई समूहबीचको झगडामा प्रयोग गर्न लाँदै गरेको तथ्य खुल्नुले पनि श्रेष्ठको भनाइलाई पुष्टि गर्छ । सो हतियारसहित पक्राउ परेका व्यक्तिको बयानका आधारमा थप एक जनालाई प्रहरीले पक्राउ गरे पनि उनले पनि सो हतियारको वास्तविक धनी अर्कै भएको बयान दिनुले प्रहरी हतियार ओसार्ने गिरोहको एक तहसम्म मात्र पुग्न सकेको देखिन्छ ।

अधिकांश हतियारको मुद्दामा प्रहरीले हतियारको भरियालाई मात्र पक्राउ गर्ने र वास्तविक मालिकसम्म पुग्न भने नसकेको देखिएको छ । हतियारधारीले वास्तविक मालिकको नाम नबताउने गरेकाले हतियारका सम्बन्धमा प्रहरी एक तहबाट माथि जान नसकेको एसपी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हतियार बोक्नेले आफ्नो नभएको बताए पनि कसले राख्न दिएको भन्ने जानकारी दिँदैन, त्यसैले हतियारको मुख्य मालिकसम्म पुग्न सकिँदैन ।”

साना हतियार विशेष गरी उपत्यकामा मौलाएको गुण्डागर्दी, ‘डन’ संस्कृति र गिरोह–गिरोहबीचको झगडामा बढी प्रयोग भएको पाइन्छ । साना हतियारधारी कुनै न कुनै कुख्यात गुण्डा समूहसँग आवद्ध भएका व्यक्ति हुने भएकाले पनि प्रहरीले हतियारको तथ्यसम्म पुग्ने साहस नगर्ने गरेको देखिन्छ । जानकार स्रोत भन्छ –“हतियारसहित मानिस पक्राउ परे पनि प्रहरीलाई प्रहरीकै उच्च तहदेखि राजनीतिक उच्च तहबाट समेत दबाब आउने गर्दछ, त्यसले गर्दा पनि हतियार कुन प्रयोजनका लागि लाँदै गरेको हो भन्ने तथ्यसम्म प्रहरी पुग्न नसकेको हो ।”

प्रतिक्रिया